माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरीसहित पाँच घाइते - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरीसहित पाँच घाइते

चितवन, ६ जेठ : पश्चिम चितवनको मङ्गलपुरमा माछा चोरी गरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच घाइते भएका छन् । 

घाइते हुनेमा भरतपुर महानगरपालिका–१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मङ्गलपुरका २६ वर्षीय दिपेश बजगार्इं, २३ वर्षीय दीपेन्द्र बजगाईं र दङ्गा नियन्त्रण गण हेटौँडा दरबन्दी भइ रामपुरमा कार्यरत २६ वर्षीय प्रहरी जवान विजय सुनार छन् । गणेश, सन्तोष र दिपेश दीपेन्द्र दाजुभाइ भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार सोमबार राति १० बजेतिर विवाद हुँदा झडप भएको हो । स्थानीय दिपेश र दीपेन्द्रले पोखरी भाडामा लिइ पालिएको माछा सन्तोष र गणेशले चोर्दै गरेको भेटिएपछि चोरी गर्नेलाई बजगाईँ दाजुभाइले लखेटेका थिए । सोही क्रममा बजगाईँ दाजुभाइले खबर गरेका र प्रहरी आएपछि दुई पक्षबीच पोखरीभन्दा केही पर रङ्गशाला निमार्णस्थल नजिकै झडप भएको थियो ।

प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार थापा दाजुभाइले खुकुरी प्रहार गर्दा प्रहरी जवान सुनार गम्भीर घाइते हुनुभएको छ । थापा र बजगार्इं दाजुभाइ पनि घाइते भएको उहाँले जानकारी दिनुभयो । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.