सीमा सुरक्षा चौकीमा भएको आक्रमणमा भारतीय पक्षद्वारा माफी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 6 May 2020

सीमा सुरक्षा चौकीमा भएको आक्रमणमा भारतीय पक्षद्वारा माफी

भद्रपुर, २४ वैशाख : झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । 

झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाईफायर गर्नुपरेको थियो । 

सोही विषयमा मङ्गलबार दिउँसो घटनास्थलमा दुवै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल हुँदा भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गर्दै संलग्नमाथि भारतीय प्रशासनद्वारा कानूनी कारवाही गरिने सहमति भएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो ।

“भारतीय सीमा सुरक्षा बल, सीमावर्ती भारतीय ग्रामपञ्चायतका जनप्रतिनिधि र स्थानीय गाउँलेहरु छलफलमा आएका थिए”, ढकालले सहमतिका बारेमा जानकारी दिँदै भन्नुभयो, “हवाईफायर गर्नुपर्ने अवस्था सिर्जना भएकामा भारतीय पक्ष दोषी भएको हामीले बतायौँ, उहाँहरुले गल्ती स्वीकार्दै क्षमा माग्नुभयो ।”

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले छलफलमा सीमाको सुरक्षा संवेदनशीलता नबुझी हुलहुज्जत हुनु भारतीय पक्षको गम्भीर कमजोरी भएको निष्कर्ष निकाल्दै कोभिड–१९ सङ्क्रमण रोक्न सीमा क्षेत्रबाट आवतजावत हुन नदिने दुवै देशले यसअघि गरेको प्रतिबद्धतालाई कडाइका साथ पालना गर्ने सहमति भएको जानकारी दिनुभयो । 

सङ्क्रमण देखिए पत्रकारलाई एक लाख
झापाको बिर्तामोडबाट सञ्चालित साझामञ्च डटकममा कार्यरत पत्रकार तथा कर्मचारीको रु एक लाखको कोरोना बीमा गरिएको छ । मिडिया प्रालिका अध्यक्ष एवं प्रदेश सांसद एकराज कार्कीले वैशाख २३ गतेबाट एक वर्षसम्म लागू हुनेगरी कार्यरत कुनै पत्रकार वा कर्मचारीलाई कोरोनाको पिसीआर परीक्षणमा पोजेटिभ देखिए बीमावापत प्रतिव्यक्ति रु एक लाख भुक्तानी दिइने बताउनुभयो । सम्पादक गोपाल काफ्लेले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाबाट १० पत्रकार तथा कर्मचारीको बीमा गरिएको जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.