सङ्क्रमितलाई नरैनापुरमै व्यवस्थापन गरिने - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

सङ्क्रमितलाई नरैनापुरमै व्यवस्थापन गरिने

राँझा, ६ जेठ : बाँकेको नरैनापुरमा आज भेटिएका ४७ सङ्क्रमितलाई नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिने भएको छ । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेपछि नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवनलाई आइसोलेशन अस्पतालका रुपमा सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेश सरकारले खजुराको क्यान्सर अस्पतालमा सञ्चालन गरेको कोरोना विशेष आइसोलेशन अस्पतालकै रुपमा आइसोलेशन अस्पताल सन्चालन हुनेछ । लक्ष्मणपुर स्वास्थ्य केन्द्र चिकित्सकको दरबन्दी भए पनि केही वर्षदेखि चिकित्सकविहीन छ । निजी अस्पतालले शय्यालगायत आवश्यक सामग्री सहयोग गरिसकेकाले भेरी अस्पतालको मातहतमा रहने गरी नरैनापुरमा आइसोलेशन सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन अस्पताल सञ्चालनका लागि पूर्वाधार अध्ययन भइरहेको जानकारी दिनुभयो । सङ्क्रमितलाई आज क्वारेन्टिनबाट अलग्गै सुरक्षित तरिकाले राख्ने काम भइरहेको बताइएको छ । भारतबाट आएर नरैनापुरको विभिन्न क्वारेन्टिनमा रहँदै आएका एक महिलासहित ४७ जनामा आज कोरोना पुष्टि भएको हो । यसअघि नेपालगञ्जमा फेला परेका सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा तथा नरैनापुरका आठ जनालाई दाङ पठाइएको छ । बाँकेमा प्रदेश सरकारले खजुरामा स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २५ र बर्दियाका एक गरी २६ जनाको उपचार हुँदै आएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.