अन्नपूर्ण गापाको नयाँ तरिका, राहत होइन काम दिएर ज्याला - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

अन्नपूर्ण गापाको नयाँ तरिका, राहत होइन काम दिएर ज्याला

– जमुनावर्षा शर्मा 
चिप्लेढुङ्गा, ६ जेठ  : “म श्रममा विश्वास गर्र्छु, पेशाले होटल व्यवसायी म अहिले होटल बन्द भएकाले बाटो निर्माणमा जुटेको छु”, अन्नपूर्ण गाउँपालिकाको काँडेदेखि अष्ट्रेलियन क्याम्प हुँदै मर्दी हिमाल जाने पदमार्ग निर्माण कार्यमा व्यस्त सागर केसीले भन्नुभयो । केसीको पोखरा–बागलुङ राजमार्गमा रहेको ग्रीन भ्यू रेष्टुराँ हाल देशमा जारी बन्दाबन्दीका कारण बन्द छ । “घरमा श्रीमती र छोराछोरी छन्, रोजीरोटीका लागि पनि म श्रममा जुटेको छु”, बागलुङ नेपानेका केसीले विषम परिस्थितिमा श्रममा जोडिएर रोजीरोटी चलाउन पाउँदा खुशी लागेको बताउनुभयो । काँडेको नयाँबजारमा डेढ वर्षदेखि होटल सञ्चालन गर्दै आएका केसी राम्रो इलेक्ट्रिसियन पनि हुनुहुन्छ । 

सोही गाउँपालिका वडा नं ३ गोलडाँडाका भरत परियार पनि अहिले बाटो निर्माण कार्यमा व्यस्त हुनुहुन्छ । कोरोना सङ्क्रमणको रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीले समस्यामा पर्नुभएका परियार राहत माग्न जाँदा गाउँपालिकाले विकास निर्माणको काम दिएपछि झन खुशी हुनुहुन्छ । “म सधैँ ज्याला मजदूरी गर्ने मान्छे, बन्दाबन्दीले काम भएन, हात मुख जोर्न समस्या भयो, राहत पाइन्छ कि भनेर नाम लेखाउन वडामा गएको थिएँ तर राहत नभई काम पाएँ खुशी नै छु” उहाँले भन्नुभयो । उहाँले ज्याला दैनिक रु एक हजार पाउनुहुन्छ । “पाँचजनाको परिवार छ, देशको वर्तमान विषम परिस्थितिमा हालका लागि पेट पाल्ने समस्या टरेको छ”, परियारले भन्नुभयो । 

त्यसैगरी उक्त गाउँपालिका वडा नं ५ मा व्यवस्थित हुँदै गरेको शीतला गुफाको पूर्वाधार निर्माणमा व्यस्त सुमित्रा परियारले पनि बन्दाबन्दीमा राहतभन्दा काममा सन्तुष्टि मिलेको बताउनुभयो, “सधैँ काम गरेर नै खाने हो, एक दुई छाकका लागि बाँडिने राहतले कति दिन पो टर्छ र ? हामीलाई राहत होइन काम भए पुग्छ ।” सुमित्रा बालुवा ढुङ्गा बोक्ने काम गर्नुहुन्छ । उहाँले ज्यालाबापत प्रतिदिन ७५० पाउने बताउनुभयो । 

कास्कीका चार गाउँपालिकामध्यको एक अन्नपूर्ण गाउँपालिकाले कोरोना सङ्क्रमणबाट देखिएको असहज परिस्थितिमा गाउँपालिकामा राहत माग्न जाने दक्ष जनशक्तिलाई विकास निर्माणमा जुटाउने गरेको छ । विश्वको उत्कृष्ट १० पदमार्गमध्ये पाँचौँमा पर्ने अन्नपूर्ण सर्किटका पदमार्गहरु मोटर बाटोले विस्थापित भइरहेको अवस्थामा त्यसको संरक्षण र विकासका लागि बन्दाबन्दीमा पनि विकास निर्माणको काम धमाधम भइरहेको छ । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पालिकाभित्रका ११ वटा वडामा बाटो, पोखरी, चौतारी, पदमार्गलगायत काम भइरहेको र दैनिक ४०० देखि ५०० सम्म स्थानीयवासीलाई रोजगारी प्रदान गरिरहेको बताउनुभयो । 

सङ्कट टार्न सकिने तर महासङ्कट टार्न नसकिने भन्दै दीर्घकालीन योजनासहित विपत् व्यवस्थापनको तयारीमा जुटेको कुँवरको भनाइ छ । “अहिले त्यस्तो खानै पाएनौँ भन्नेहरु आउनुभएको छैन, एकाध परिवारलाई व्यवस्थापन गरेका छौँ, गाउँ हो आत्मीयता मरेको छैन, पालोपैँचो चलिहाल्छ, श्रम गर्न सक्नेहरुलाई विकास निर्माणको काम दिएका छौँ, काम गर्नुहुन्छ ज्याला बुझ्नुहुन्छ जानुहुन्छ”, अध्यक्ष कुँवर भन्नुहुन्छ । 

मानिसलाई कुनै पनि कुरा सित्तैमा दिने बानीले काम गर्न सक्नेहरुलाई पनि अल्छी बनाउने उहाँको धारणा छ । “म राहत दिने÷लिने दुवै कुरा उपयुक्त मान्दिनँ, श्रममा विश्वास गरेर स्वावलम्बी भएर बाँच्न सिकाउने हो । हतारिएर राहत भन्दै केही बाँड्दाभन्दा श्रमिकलाई काम दिन सक्दा राम्रो हुन्छ र काम गरी खाने परिपाटी र बानी पनि बस्नसक्छ, अहिले राहतको सट्टा रोजगार दिएर आत्मनिर्भर बनाउने अभ्यासमा जुटेका छाँै, स्थानीय उत्पादनमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो । खाना नफालौँ भन्ने अभियानमा समेत जुट्नुभएका कुँवरले गाउँपालिकामा कोही भोकै बस्नु नपर्ने तर काम भने गर्नुपर्ने आफ्नो मान्यता रहेको र सोहीअनुरुप अघि बढेको बताउनुभयो । 

गाउँपालिकाले स्थानीयवासीको जीवनस्तर उकास्न तत्काल पर्यटन पूर्वाधार विकासमा जोड दिएर आर्थिक चलायमान गराउने योजना लिइरहेको अवस्थामा हाल देखिएको कोरोना सङ्क्रमणले भने गाउँपालिकाको उद्देश्यलाई असर गरेको छ । यद्यपि चालू आर्थिक वर्षका विकास निर्माण कामलाई भने रोकेको छैन । गाउँपालिकाभित्र अन्नपूर्ण पदमार्ग, घान्द्रुक, लान्द्रुक, उल्लेरी, ठामको डाँडा, नाउँडाडा भ्यूटावर, ताल चियाउनी गह्रो, बिरेठाँटी छहरा, शीतल गुफा, पाउँदुरकोटजस्ता पर्यटकीयस्थलको विकासलाई जोड दिएको उहाँको भनाइ छ । काँडे अष्ट्रेलियन क्याम्प हुँदै प्रितम देउराली, नाउँडाडा भ्यूटावर हुँदै भूमेडाँडा, लान्द्रुक हुँदै मर्दी हिमालको पदमार्गको काम अहिले भइरहेको उहाँले जानकारी दिनुभयो । 

उक्त गाउँपालिका वडा नं २ का वडाध्यक्ष चूडामणि अधिकारीले वडाको करिब एक हजार १०० मिटर बाटोको ढलान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “स्थानीय स्रोत र साधनको प्रयोग र गाउँकै जनशक्ति परिचालन हुँदा रोजगारको अवस्था सिर्जना भएको छ, दैनिक १५ देखि २० जना स्थानीय श्रममा जुट्नुभएको छ”, अधिकारीले भन्नुभयो । राहतभन्दा काम दिएर स्वावलम्बी बनाउने प्रयास गरेका छौँ, उहाँले जानकारी दिनुभयो । 

काँडे अष्ट्रेलियन क्याम्प प्रितम देउराली बाटो निर्माण समितिका अध्यक्ष विकास गुरुङले रु ३० लाखको बजेटमा काम भइरहेको जानकारी दिनुभयो । “एक हजार ६१३ वर्ग किलोमिटरको बाटो निर्माण भइरहेको छ । १६५ मिटर सोलिङ, दुई हजार ८८ सिँढी बनिरहेको छ । दैनिक २० देखि ३० जना स्थानीय श्रममा जुट्नुभएको छ”, गुरुङले भन्नुभयो । बाटोमा बिछ्याउने ढुङ्गा पनि कास्की ढावाको भएकाले स्थानीय स्रोतको पनि अधिकतम उपयोग भएको जानकारी पनि उहाँले दिनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले गाउँपालिकाले कृषि, पर्यटन, पर्यावरणीय वातावरणलाई समेत जोड दिएर प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने नीतिलाई समेत अवलम्बन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पर्यटनसँगै कृषिलाई पनि प्राथमिकतामा राखेकाछौँ । आधुनिक कृषि प्रणालीको विकास गरी उत्पादन बढाउने, परम्परागत कृषि पेशालाई व्यावसायिकतातर्फ उन्मुख गरी समूहमार्फत आउने ६० कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छौँं ।” 

गाउँपालिकाले विनियोजित रकममध्ये रु एक करोड १५ लाख कृषिलाई छुट्याइएको छ । कृषिलाई आधुनिकीकरणमार्फत जोड दिएको छ । एक लाख ६५ हजारभन्दा बढी विभिन्न फलफूल एभोगाडो, सुन्तला, अम्बा, कागती, अलैँचीका बिरुवा वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले परिसरमै नर्सरीमा कागती, अलैँचीलगायतका बिरुवा उत्पादन गरेर वितरणसमेत गर्दै आएको छ । 

त्यसैगरी कोरोना सङ्क्रमणपछि देखिनसक्ने खाद्य सङ्कटलाई ध्यान दिँदै गाउँकै उत्पादन कोदोलाई स्थानीयवासीसँगै किनेर भण्डारणसमेत गरेको छ । “हामीले निकट भविष्यमा हुनसक्ने खाद्य सङ्कटलाई समेत ध्यान दिएर करिब रु २० लाखको ५०० मुरी कोदो सङ्कलन गरेका छाँै, लामो समयसम्म नबिग्रने र उच्च पौष्टिक भएकाले किसानसँग प्रतिमुरी रु चार हजारमा कोदो किनेर भण्डारण गरेका हौँ ।”

गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा ठूलो पूर्वाधार विकास बनाउन नसक्ने र लक्ष्यअनुरुप राजश्व उठ्न नसक्ने अवस्थालाई दृष्टिगत गरी प्रत्यक्ष लाभान्वित हुने साना योजनामा जोड दिएर रोजगारी सिर्जना हुने उत्पादनमुखी र निर्यातलाई बढी जोड दिने जनाएको छ । गाउँपालिकाको हालको बजेट रु ५८ करोड १० लाख छ । चार सय २३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण गाउँपालिकामा विसं २०६८ को जनगणनाअनुसार २३ हजार ४०० जनसङ्ख्या रहेको छ । यहाँ ६ हजार २९ घरधुरी छन् ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.