कालीनदी पुलमा लगाइएको छेकबार हटाइयो - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 May 2020

कालीनदी पुलमा लगाइएको छेकबार हटाइयो

तानसेन, ८ जेठ : कालीनदीको पुलमा लगाइएको छेकबार हटाइएपछि किसानलाई खेतबारीमा काम गर्न जानआउन सहज भएको छ । खेतबारीमा पानी लगाउन र बाँदर लाग्ने खेतमा मकै कुर्नसमेत नपाएर हैरान भएका कृषक छेकबार हटेपछि खुशी भएका छन् । 

स्याङ्जा तथा तनहुँबाट पाल्पा आएर काम गर्ने कृषकलाई पुलमा लगाइएको छेकबारले हिउँदेधान गोड्न तथा मकै कुर्न आउन जान समस्या थियो । “बन्दाबन्दीले कालीनदीको पुल तरेर रामपुरमा रहेको खेतमा आउने अवस्था थिएन, अहिले केही भए पनि सहज भयो”, चापाकोट दामाचौरका टीकाराम परियारले भन्नुभयो । चापाकोट, दामाचौर र प्याक्लुकघाटको पुलमा कृषकका लागि बिहान ६ बजे आउन र बेलुका ६ बजे फर्कने व्यवस्था भएको हो । खेतमा आउँदा खानाको समेत व्यवस्था गरेरै कृषक खेतमा आउने गरेका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिका तथा पाल्पा रामपुर नगरपालिका प्रहरीसँग गुनासो राखिएको र सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि समस्या समाधान भएको कृषकले बताएका छन् । चापाकोट नगरपालिकाबाट रामपुरमा आएर कृषि काम गर्ने करीब ३० कृषक छन् । 

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले धेरै बहाना बनाएर मानिस ओहोरदोहोर गर्न नपाइने तर तोकिएको समयमा कृषकलाई खेतमा आउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीमा पनि कृषकले खेतीपाती गर्न पाउने भएकाले स्थानीय तहसँगको समन्वयमा कृषि काम गर्न भनेको छ । प्रशासनका सूचना अधिकृत यज्ञेश्वर पन्थीले समस्यामा परे स्थानीय तहसँग समन्वय गर्न अनुरोध गर्नुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.