बन्दाबन्दीमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 May 2020

बन्दाबन्दीमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

– केदार मगर 
खोटाङ, १२ जेठ  : कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । 

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर इटहरीबाट गाउँ आएको केही समय नबित्दै शनिबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका पाँच स्थानीय बासिन्दा आफन्तको मृत्यु भएको कागजात बनाएर तरहराबाट गाउँ आएको खुलेको हो । 

बन्दाबन्दीको समयमा व्यक्तिगत र पारिवारिक काम गर्न कतिपय अवस्थामा यात्रा गर्नैपर्ने अवस्था आउने भए पनि कतिपयले विभिन्न बहाना गर्दै शहरबाट गाउँ भित्रिने गरेको खुलेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । “बीस वर्षअघि मृत्यु भएका जगतबहादुर थापाका आफन्तले गत जेठ–८ गते मृत्यु भएको नक्कली कागजात तयार गरेर मृत्यु संस्कारका लागि भन्दै शनिबार साँझ गाउँ आएको खुलेको छ”, उहाँले भन्नुभयो, “नक्कली कागजातकै भरमा दिक्तेल आइपुगेका उनीहरुलाई प्रहरीले रोकेपछि जनप्रतिनिधिको आग्रहमा क्वारेन्टिनमा राख्ने गरी छाडिएको छ ।”

इलाका प्रहरी कार्यालय पोकली सुनसरीले उपलब्ध गराएको कागजातमा पनि जेठ ८ गते आफन्तको मृत्यु भएकाले मृत्यु संस्कारका लागि पास उपलब्ध गराइएको उल्लेख छ । दुई दशकअघि मृत्यु भएका वृद्धको अन्तिम संस्कारको कागजात बनाएर गाउँ आउनेमा थापा, चौहान, कार्की र कठायत थरका रहेका छन् । 

नक्कली मृतकको कागजात बनाएर आउँदै गरेका उनीहरुलाई खोटाङ प्रवेश गर्ने नाका जयरामघाटमा प्रहरीले छेकेको थियो तर उनीहरुले इलाका प्रहरी कार्यालय पोकलीबाट नाकामा बसेका प्रहरीलाई फोन गराएर जयराम पार गरेको खुलेको छ । नक्कली कागजात बनाएर गाउँ आएका उनीहरु पाँचै जनालाई शनिबार साँझदेखि नै दोर्पाचिउरी डाँडास्थित अन्नपूर्ण माविको क्वारेन्टिनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “गाउँ भित्रिन गरिएको कडाइका बीचमा पनि विभिन्न बहानामा गाउँ प्रवेश गर्ने क्रम रोकिएको छैन”, उहाँले भन्नुभयो, “लुकीछिपी गाउँ प्रवेश गर्ने जोकोहीलाई अनिवार्यरुपमा १४ दिनसम्म स्थानीय क्वारेन्टिनमा राख्ने गरिएको छ ।” 

एउटा टोलबाट अर्को टोल आवतजावत गर्नमा समेत रोक लगाइएको अवस्थामा बाहिरी जिल्लामा रहेका कतिपय व्यक्तिले पहुँचको भरमा समेत कागजात बनाएर आवतजावत गर्ने गरेको पाइएको छ । जिल्लामा एउटा कामका लागि प्रशासनबाट सवारी अनुमति लिएका सवारी साधन अर्कै काममा प्रयोग हुने गरेकोसमेत पाइएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत सोमबार साँझ पिसिआर परीक्षण गर्ने क्रममा सङ्क्रमण पुष्टि भएका उनलाई उपचारका लागि मङ्गलबार साँझ एम्बुलेन्समार्फत विराटनगरस्थित कोरोना अस्पताल पठाइएको छ ।

जिल्लामै पहिलोपटक कोरोना सङ्क्रमित भेटिएसँगै उनका परिवारसहित ४३ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गरिएको पिसिआरको रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्धार गरेर ल्याइएका युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.