वडावासीको पेट भर्दै वडाध्यक्ष लामा, दैनिक एक हजारलाई खाना - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

वडावासीको पेट भर्दै वडाध्यक्ष लामा, दैनिक एक हजारलाई खाना

– जमुना वर्षा शर्मा 
चिप्लेढुङ्गा, ६ जेठ : पोखरा महानगरपालिका–१३ को वडा कार्यालय अगाडि बिहान ९ बजे नै मानिस जम्मा हुने गर्छन् । सामाजिक दूरी कायम गरेर वडाले लगाएको घेराभित्र उभिनेहरुको हातमा एउटा झोला पनि हुन्छ । उनीहरु सेवा लिन आएका भने होइनन् । बन्दाबन्दीका कारण हातमुख जोड्न समस्यामा परेकाहरु वडाले वितरण गरेको खाना खानका लागि त्यहाँसम्म आइपुगेका हुन् ।

पोखराको १३ नं वडाले बन्दाबन्दीका कारण बिहान बेलुकाको छाक टार्न समस्यामा परेकालाई लक्षित गरेर खाना वितरण गर्न थालेपछि विपन्न परिवारले वडामा गएर भोको पेट भर्ने गरेका छन् । सोही वडामा बस्दै आउनुभएका ३० वर्षीय मन विकले वडाले खाना वितरण गरेपछि भोको बस्नु नपरेको बताउनुभयो । “ज्यामी काम गर्थें, बन्दाबन्दी भयो, अहिले भोको पेट भरिएको छ अब त काम गर्न पाए पनि हुने”, विकले भन्नुभयो । 

खानाको लाइमा बस्नुभएकी पार्वती परियारले पनि चार जनाको परिवारलाई बिहान–बेलुका वडाबाटै खाना लैजाने गरेको बताउनुभयो । सोही ठाउँका खबहादुर विक पनि भोको पेट वडाध्यक्षले भरिदिएपछि खुशी हुनुहुन्छ । खाना पाए पनि सबैको एउटा चाहना छ, “बन्दाबन्दी सकियोस् काम गर्न पाइयोस्, भोको पेटको राग आफ्नै पसिनाले मेट्न पाइयोस् ।”

खानाका लागि लाइनमा पालो पर्खिरहनुभएकी सुन्तली विकले भन्नुभयो, “मलाई त काम गर्न कहिले पाइएला भनेर अत्यास लागेको छ, अहिले भोको पेट अध्यक्षले भर्नुभएको छ, तर सधैँ त हुन्न होला नि ! कहिले पानी पर्छ, कहिले हावा चल्छ, खाना लिन आउन पनि समस्या नै हुन्छ तर बाध्यताले आउनैपर्छ ।” उहाँले आफू र श्रीमान् मात्रै रहेकाले दुई जनालाई खाना लैजान गरेको बताउनुभयो । 

वडा नं १३ वडाका विपन्न परिवारलाई दुई चरणमा राहत वितरण गरे पनि ग्यासलगायत अन्य समस्याले खाना पकाउन असहज भएको गुनासो आएपछि वैशाख २३ गतेदेखि विपन्न परिवारका सदस्यलाई बिहान बेलुका नै खान खुवाउन शुरु गरेको वडाध्यक्ष दर्शन लामाले बताउनुभयो । “हामीले पहिलो चरणमा एक हजार ४२३ र दोस्रो चरणमा केही तिनै व्यक्तिसहित अन्य गरी एक हजार ६९५ जनालाई राहत बाँड्यौँ तर कतिपयले खान पकाउन ग्यास भएन अरु समस्या भयो भनेर भन्न थाल्नुभयो । उनीहरुलाई लक्षित गरेर वैशाख २३ गतेबाट खाना खुवाउन शुरु गरेका हौँ ।”

वडाध्यक्ष लामाका अनुसार खाना खुवाउने अभियानमा वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका सदस्य, आमा समूहलगायत दैनिक २० जना खटिएका छन् । भगवती क्याटरिङले खाना पकाउने कुक र भाँडाकुँडा सहयोग गरेको छ । विभिन्न सामाजिक भावना भएका व्यक्तिले खाद्य सामग्री उपलब्ध गराएका छन् । “शुरुका दिनमा दैनिक २०० देखि २५० सम्म खाना खाने हुनुहुन्थ्यो, पछिल्लो समय ४०० देखि ५०० जनालाई खाना खुवाइरहेका छौँ”, वडाध्यक्ष लामाले भन्नुभयो ।

उहाँले प्रवेशद्वारमा थर्मलगनबाट ज्वरो परीक्षण गर्दै सामाजिक दूरी कायम गरेर मात्र भित्र खानाका लागि प्रवेश दिने गरेको बताउनुभयो । “सुरक्षाको सम्पूर्ण प्रक्रिया अपनाएका छौँ, फेरि पनि चाप दिनदिनै बढिरहेको छ, जसले जति परिवार छन् त्यति नै खाना आफूले लिएर आएको भाँडामा राखेर लैजानुहुन्छ । अब अर्को तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ कि भनेर सोचिरहेका छाँै । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.