नेपाल-भारत खुला सिमा बन्द गरौं, दशगजामा पाँच मिटर अग्लो पर्खाल लगाऔं : उपाध्यक्ष गौतम - pharaksandesh.com

मुख्य समाचार


Sunday, 28 June 2020

नेपाल-भारत खुला सिमा बन्द गरौं, दशगजामा पाँच मिटर अग्लो पर्खाल लगाऔं : उपाध्यक्ष गौतम

काठमाडौं, १४ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले नेपाल र भारतबीच सदियौंदेखि रहँदै आएको खुला सीमा बन्द गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले दुई देशबीच प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्ने र त्यस्तो प्रवेशाज्ञा निःशुल्क उपलब्ध गराउनु पर्ने धारणा राख्नुभएकाे हाे ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक जारी रहेकै बेला उपाध्यक्ष गौतमको यस्तो भनाइ आएको हो ।

उहाँले दुबै देशको दशगजाको दुबैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्ने धारणा पनि अघि सार्नुभएकाे हाे ।

‘सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ,’ नेता वामदेव गौतमको सचिवालयद्वारा गौतमको धारणा भनी आइतबार जारी वक्तव्यमा भनिएको छ ।

गौतमको वक्तव्य उहाँकै शब्दमा:
पार्टीको निर्णय र सर्वदलीय सहमतिमा भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटिएको नेपालको नयाँ नक्सा जारी गरी संघीय संसदका दुवै सदनवाट सर्वसम्मतिमा पारित गरेर सार्वजनिक गरेकोमां नेपाल सरकार, सवै राजनितिक पार्टी दुवै सदन, र संपूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद वधाई र आभार प्रकट गर्छु।

सिंगो राष्ट्रलाई एकतावद्ध गरी अतिक्रमित भूमिसहितको नेपालको नयाँ नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएकोछ। भारतीय सेना नेपाली भूमिवाट हट्दासाथ हामीले १०० प्रतिशत विजय हासिल गर्नेछौं।

यसै सन्दर्भमा गरिएको महाकाली नदीको एकिकृत विकास सम्बन्धी सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा म सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीबाट अन्यायपूर्वक निष्कासन गरिएको थियो।

पार्टीबिरोधी भनेर हामीलाई लगाइएको आरोपसहीत पार्टीबाट निस्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस।

अव ढिला नगरी नेपाल–भारत बीच रहेको खुल्ला सीमाना वन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्छ। प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्छ। सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ।

हाम्रा दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न सकिन्न। सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नुपर्छ।

-वामदेव गौतम, उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.