कर्णालीका एक हजार एक सङ्क्रमित निको भएर घर फर्के - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 30 June 2020

कर्णालीका एक हजार एक सङ्क्रमित निको भएर घर फर्के

सुर्खेत, १६ असार : पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । दिनहुँजसो दर्जनौँ सङ्क्रमित निको भएर घर जान थालेका छन् । जेठ १० गते यता दिन दुईगुणा रात चौगुणाले भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण पुष्टि हुँदै जाँदा कर्णालीका नागरिकमा आतङ्क फैलिएको थियो । असार १३ गते यता कोरोना सङ्क्रमित हुनेभन्दा जितेर घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेपछि कर्णालीवासीको अनुहारमा खुशी छाउन थालेको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरडिटी पिसिआर परीक्षणमा आज रुकुमपश्चिमका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि आजै यो प्रदेशका विभिन्न आइसोलेशन सेन्टरबाट ४५ सङ्क्रमितले कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । निको हुनेमा ४१ पुरुष र चार महिला रहेको उहाँले बताउनुभयो । 

आज दैलेख अस्पतालको आइसोलेशनबाट १७, सालकोट आइसोलेशन सुर्खेतबाट १४, प्रदेश अस्पताल सुर्खेतबाट छ, गुराँस आइसोलेशन दैलेखबाट छ र लेकबेंसी आइसोलेशन सुर्खेतबाट दुई जनाले कोरोना जितेसँगै कर्णालीमा कोरोनामाथि विजय गर्नेको सङ्ख्या एक हजार एक पुगेको महाशाखा प्रमुख डा तिवारीले जनाउनुभयो । “अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका सबै व्यक्तिको अवस्था सामान्य छ र कुनै लक्षण देखिएको छैन”, उहाँले भन्नुभयो, “सङ्क्रमित सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन् ।” 

उहाँका अनुसार प्रदेश सरकारले सङ्क्रमितलाई मेडिकल उपचारका साथै योग ध्यान तथा विभिन्न खाले शारीरिक व्यायाम गराउने कामसमेत गरेको छ भने प्रदेश आयुर्वेद औषधालयले १० जिल्लाका सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिरहेको छ । अब कर्णालीमा ४२६ जना कोरोना सङ्क्रमित मात्र निको हुन बाँकी रहेका छन् । कूल सङ्क्रमित सङ्ख्याको ७० प्रतिशत निको भएर घर फर्केको र बाँकी ३० प्रतिशतको अवस्था सामान्य रहेको मन्त्रालयलको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.