जननेता भण्डारीको जन्मजयन्ती मनाइँदै - pharaksandesh.com

मुख्य समाचार


Sunday, 28 June 2020

जननेता भण्डारीको जन्मजयन्ती मनाइँदै

काठमाडौँ, १४ असार : जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोभिड १९ बाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाइँदै छ । ‘मदन भण्डारी फाउण्डेशन’ले आज मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । भण्डारीको जन्म जयन्तीका कारण यही असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठक आज स्थगन गरिएको छ । 

फाउण्डेशनले यही असर ७ गतेदेखि जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि घर–कम्पाउण्ड वा सार्वजनिक स्थलमा फलफूलको विरुवा रोप्ने र रोपेका विरुवाको संरक्षण गर्ने, फलफूल तथा तरकारीका बिऊबिजन वितरण गर्ने, किसानका बीचमा एकापसमा अनुभव साटासाट गर्ने, गरिब, असहाय, मजदुर, सुकुम्बासी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक केन्द्रीत कार्यक्रम गरेको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय तहसँग कोरोना भाइरसबाट संक्रमित नागरिकको व्यवस्थापन र हेरचाहमा सहयोग गर्ने, यातायात क्षेत्रमा परेको असरबारे अन्तरक्रियाको आयोजना गर्ने र आज संक्रमणका कारण उपचारमा रहेका र वृद्धाश्रममा रहेका नागरिकलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरिएको छ । 

यसैगरी सामाजिक सञ्जालमार्फत कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमहरु, मदन भण्डारी रक्त कोष स्थापना, विभिन्न तहमा भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ र भण्डारीका योगदानका बारेमा अन्तरक्रियाको आयोजना, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र तथा जनजीविका, सरकार सञ्चालन, संगठन परिचालन आदिका विषयमा रचनात्मक कार्यक्रमहरु राखिएकाका छन् । 

सरकारको नीति, कार्यक्रम र बजेटमार्फत आएका कार्यक्रका अध्ययन विश्लेषण गरी कार्यान्वयनमा जोड दिने तथा छिमेकी देशलगायत प्रवासबाट फर्कने नेपालीको स्वास्थ्य, सुरक्षा र उनीहरुको व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारलाई सहयोग गर्ने कार्यक्रम पनि गरिने जनाइएको छ ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएकामा भण्डारीको विशेष योगदान स्मरण गरिन्छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.