त्यो मान्छे : शशी श्रेष्ठ - pharaksandesh.com

मुख्य समाचार


Monday, 22 June 2020

त्यो मान्छे : शशी श्रेष्ठ

एउटा भद्र र गम्भिर मान्छे ऊ,
रातभरि, 
जातिय विभेदको कथा लेख्छ 
र भेरीको डिलमा बसेर
मायामा मृत्यु साट्नेहरुलाई
निर्दयी मान्छेको कथा सुनाउँछ।

उसका कथाहरू अनौठा हुन्छन्। 
त्यहाँ, बुद्ध बन्दुक बोकेर दौडन्छ
अनि 
हिट्लर शान्ति वार्तामा बस्छ।
सर्रियल उसका कथाहरुमा,
ऊ सरकार बन्छ र
लिम्पियाधुरामा ग्रेटवाल सार्छ,
स्वास्थ्य र शिक्षा निशुल्क पार्छ र
किताबहरू कर फ्रि गरिदिन्छ।

कथाको मध्यभागमा
ऊ केही आक्रामक देखिन्छ।
लादेनले ट्वीनटावर उडाएझैँ ऊ
बलत्कारीको टाउको उडाउँछ।
अनि
कोशीका सबै ढोकाहरू खोलिदिन्छ।

त्यो भद्र र गम्भिर मान्छे,
आफ्नो खप्परको ल्याबमा
दु:खै दु:खको भाइरस जन्माउँछ,
कहिले त्यै दु:ख ओढ्छ 
त कहिले ओछ्याउँछ।

ऊ प्रत्येक दिनसँगै ब्युँतन्छ र
हरेक रातसँगै मर्छ।
इच्छा र अनिच्छाको द्वन्दमा
अलिकति बाँच्छ र धेरै मर्छ।
यताउती हेर्दै,
व्यक्तिगत सुखको परिभाषा खोजिरहन्छ,
त्यो मान्छे !
त्यो भद्र मान्छे!!

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.