सोती मुद्दामा प्रतिवादी तर्फका चार वकिलको बहस - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 June 2020

सोती मुद्दामा प्रतिवादी तर्फका चार वकिलको बहस

रुकुमपश्चिम, ९ असार : सोती घटनाको मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको छ । वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको हो । 

चार वकिलले आज बहस गरेका छन् भने अब प्रतिवादीतर्फका तीन वकिलको बहस बाँकी छ । बाँकी बहस बुधबार हुने रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । यसअघि सोमबार वादी तथा जाहेरीवालातर्फका वकिलको बहस सकिएको थियो ।

गत शुक्रबारदेखि शुरु भएको बहसमा वादीतर्फबाट पाँच सरकारी वकिल र जाहेरीवालातर्फका १८ वकिल गरी २३ जनाले बहस गरेका थिए । सोती मुद्दाको थुनछेक बहस बुधबार नै सकिने आकलन गरिएको छ । 

बुधबार बहस सकिएमा सोही दिन नै थुनछेक आदेश आउन सक्ने स्रेष्तेदार बोहराले बताउनुभयो । गत जेठ १० गते जिल्लाको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एक जनाको ज्यान गएको थियो । 

उक्त घटनामा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसुरमा ३४ जना विरुद्ध मुद्दा दर्ता गर्दै जन्मकैद र आजीवन कारावाससम्मको कैद सजायको माग गरेको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.