ढलमा देखिएको कोरोना भाइरस व्यक्तिमा सरेको प्रमाण छैन : प्रवक्ता गौतम - pharaksandesh.com

मुख्य समाचार


Sunday, 5 July 2020

ढलमा देखिएको कोरोना भाइरस व्यक्तिमा सरेको प्रमाण छैन : प्रवक्ता गौतम

काठमाडाैँ, १८ असार :  सरकारले काठमाण्डौको ढलको पानीमा कोरोना भाइरस भेटिएको र अवस्था भयावह भइरहेको भन्ने हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

स्वास्थ्य मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले संसारका अरु देशमा पनि ढलको पानीमा कोरोना भाइरस भेटिएकोले आत्तिनुनपर्ने बताउनुभयो । व्यक्तिमा कोरोना सङ्क्रमण रहेको अवस्थामा या निको भइसकेपछि पनि उसको दिसामा भाइरसका टुक्राटाक्री देखिने हुनाले ढलमा कोरोना देखिएको तर यसबाट डराइहाल्नुपर्ने अवस्था नरहेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो । 

ढलको पानीमा कोरोना भाइरस दुई दिनसम्म बाँच्न सक्ने तर अध्ययनहरुबाट ढलको पानीबाट व्यक्तिमा कोरोना सरेको प्रमाण नभेटिएको गौतमको भनाइ छ । 

काठमाण्डौको ढलमा कोरोना भाइरस देखिएकोले कोरोना समुदायस्तरमा पुगेर अवस्था भयावह भयो भन्न नमिल्ने उहाँको दाबी छ । तर ढलको पानीमा कोरोनासँगै अरु रोगका पनि किटाणु रहन सक्ने भएकाले ढलको काम गर्नेहरुले व्यक्तिगत सुरक्षा सतर्कता अपनाउनुपर्ने डाक्टर गौतमको भनाइ छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य मन्त्रालयले यसबारेमा अध्ययन गर्ने प्रवक्ता गाैतमले बताउनुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.