काठमाडौँ, २२ असार : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक असार २४ गतेसम्म स्थगित भएको छ। नेकपा प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक २४ गते बुधबार ११ बजेसम्म स्थगित भएको जानकारी दिए।
नेकपाभित्र चर्कँदै गएको आन्तरिक कलहले गम्भीर मोड लिएपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक सरेको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री एवम् अध्यक्ष ओली बिहीबार संसद अधिवशेन अन्त्य गर्ने तहसम्म पुगेपछि शुक्रबार एक दिन गृहकार्य गरेर शनिबार बैठक तय गरिएको थियो। शनिबार पनि थप छलफल गर्ने भन्दै स्थगित गरिएको बैठक फेरि स्थगित भएको हो।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’बीच बालुवाटारमा आइतबार पनि छलफल भएको थियो। बालुवाटारको वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए। छलफलमा दुवै अध्यक्ष आफ्नो अडानमा बसेपछि कुरा मिल्न नसक्दा फेरि सोमबार छलफल गरेर अगाडि बढ्ने सहमति भएको थियो।

No comments:
Post a Comment