प्रथा
अलिनो भो खाएको गाँस नुन कसले चोर्यो
सुनसान भो मनको बाग जून कसले चोर्यो ?
एक एक गरी डाली छोडी उड्दै गए खुसी
बेताल भा'छ जोवन मेरो धुन कसले चोर्यो ?
रहर बग्ने खोली सुकी अब बगर बनेकी छु
श्रृङ्गार टुट्यो जिन्दगीको सुन कसले चोर्यो ?
धागो बाटी बुनौं भन्थें पिरतीको रानीपाखी
एक्लै भा'छ वैँसको तान ऊन कसले चोर्यो ?
गौचरनमा गाई छोडी गोठालो कहाँ हिँड्यो
भोकै भा'छ बाच्छी आज थुन कसले चोर्यो ?
साधु पनि हरामी बन्छ भित्रै चोट लागेपछि
बैगुनी भो दिलको रप्तार गुन कसले चोर्यो ?

No comments:
Post a Comment