छुट्टाछुट्टै घटनामा तनहुँमा दुईको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

छुट्टाछुट्टै घटनामा तनहुँमा दुईको मृत्यु

तनहुँ, १८ असार : जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया पत्नी मोतीमायाको ज्यान गएको हो । करेन्ट लागेर सख्त घाइते भएकी पन्तको उपचारका लागि मुग्लिन हाइवे अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । 

त्यसैगरी जिल्लाको भानु नगरपालिका–१ निवासी २२ वर्षीया तिलकुमारी गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय चुँदीखोलाको काली रहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

डुबेर गम्भीर घाइते भएकी ती युवतीलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगिएकामा चिकित्सकले मृत घोषणा गरेको उहाँले बताउनुभयो । साथीसँगै पौडी खेल्न गएकी उनी रहमा डुबेर सख्त घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका अन्यलाई भने केही नभएको बताइएको छ । 

बहिनी जिस्क्याउनेलाई पिट्दा दुई घाइते
आफ्नो बहिनीलाई जिस्क्याएको निहुँमा यहाँका एक युवकले दुई युवकलाई कुटपिट गरी सख्त घाइते बनाएका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ बस्ने सुमन श्रेष्ठले आफ्नी बहिनीलाई जिस्क्याएको भन्दै सोही स्थान निवासी १५ वर्षीय दिप्सन मगर र १९ वर्षीय सुदीप मगरलाई कुटपिट गरी घाइते बनाएका हुन् । कुटपटिबाट घाइते दुवैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहको छ । कुटपिट गर्ने श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.