क्यान्सरको स्क्रिनिङसम्बन्धी अभिमुखीकरण - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 7 July 2020

क्यान्सरको स्क्रिनिङसम्बन्धी अभिमुखीकरण

सप्तरी, २३ असार : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘अवस्ट्रेक्टिभ, फिस्टुला, सर्भाइकल तथा स्तन क्यान्सरको स्क्रिनिङ’ सम्बन्धी एकदिने अभिमुखीकरण सोमबार सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजित एकदिने अभिमुखीकरणमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा अन्य महिलाको सहभागिता थियो । अभिमुखीकरणमा प्राथमिक स्वास्थ्य केन्द्र तोपाका डा प्रकाश सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा, कल्पना मण्डल र चन्द्रा नेपालीले सहजीकरण गर्नुभएको थियो । 

शरीरका अन्य हिस्साहरुमा फैलिइसकेपछि मात्र क्यान्सरको लक्षण देखिने भएकाले क्यान्सरको निदानका लागि नियमितरूपमा स्क्रिनिङ आवश्यक रहेको डा सिंहले बताउनुभयो । क्यान्सर आफैँमा डरलाग्दो रोग भए पनि उपचार नै नहुने रोग भने होइन । शुरुआती चरणमा उपचार थालियो भने क्यान्सर पूर्णतः निको हुन्छ । उपचार जटिल बनेपछि ढिलो गरेर मात्र क्यान्सर लागेको थाहा पाइने गरेकाले क्यान्सर ठूलो समस्या बन्ने गरेको छ । नेपालमा अझै पनि ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । 

अभिमुखीकरणपश्चात बुधबार प्राथमिक स्वास्थ्य केन्द्र तोपामा त्यस्ता समस्या भएका महिलाका लागि स्क्रिनिङ शिविर सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत झाले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार महिलामा सबैभन्दा बढी स्तन, कोलोरेक्टल, फोक्सो, श्वासनली र पेटसम्बन्धी क्यान्सर पाइएका छन् । यसैगरी पुरुषमा फोक्सो, श्वासनली, कोलोरेक्टल, पेटसम्बन्धी क्यान्सर बढी हुन्छन् । संसारभर प्रत्येक आठमध्ये एक जना क्यान्सरका कारण मर्छन् । यसबाट हुने मृत्युको सङ्ख्या मलेरिया, क्षयरोग र एड्सका कारण हुने मृत्युको कूल सङ्ख्याभन्दा बढी छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.