चट्याङ्ग लागेर वृद्धको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Friday, 3 July 2020

चट्याङ्ग लागेर वृद्धको मृत्यु

सप्तरी, १९ असार : वर्षासँगै आएको चट्याङ्ग लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका एक वृद्धको विहीबार मृत्यु भएको छ । 

खेतमा हलो जोत्न गएका ७० वर्षीय धर्मी साहको मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताउनुभयो । गम्हरिया प्रवाहा गाविसका पूर्वअध्यक्षसमेत रहनुभएका मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह रुखमुनि ओत लागेका बेलामा चट्याङ् लागेको हो ।

चट्याङ लागि गम्भीर घाइते भएका साहलाई १६ वर्षीया नातिनी कञ्चनाकुमारी साहले उठाउन खोज्दा उनलाई पनि करेन्टको झट्का लागेको थियो । कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको टोलीले शवलाई परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेको छ । 

खेतमा काम गरिरहेको समयमा चट्याङ्ग लागेर आज प्रदेश २ मा ६ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ । 

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले चट्याङ लागेर बारामा चार जना, सप्तरी र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको बताउनुभयो । त्यस्तै चट्याङ लागेर बारामा सात जना तथा सप्तरी र सर्लाहीमा एक÷एकजना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.