मार्बलले किचेर गम्भीर घाइते बनेका कामदारको हेलिकोप्टरबाट उद्धार - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 7 July 2020

मार्बलले किचेर गम्भीर घाइते बनेका कामदारको हेलिकोप्टरबाट उद्धार

खोटाङ, २३ असार  : गाडीबाट झार्ने क्रममा मार्बलले किचेर गम्भीर घाइते बनेका दुई कामदारको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन गाडीमा ल्याइएको मार्बल झार्ने क्रममा सोही मार्बलले किचेर गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ३० वर्षीय भुवन आचार्य र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–५ माम्खाका २४ वर्षीय कृष्ण कार्कीलाई सोमबार साँझ हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

ना५ख ९५६९ नंको एलपी ट्रकमा तराईबाट ल्याइएको मार्बल दिक्तेल बजारस्थित कुमारी चलचित्र भवन नजिकै झार्ने क्रममा सोही मार्बलले किच्दा आचार्यको दाहिने हात र खुट्टा भाँचिनुका साथै शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको जनाइएको छ । सोही घटनाका अर्का घाइते कार्कीको दाहिने खुट्टाको घुँडामाथिको भाग भाँचिनुका साथै शरीरमा समेत चोट लागेको स्वास्थ्यकर्मीले बताएका छन् । 

घाइतेमध्ये आचार्यको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो । घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्धार गरेर जिल्ला अस्पताल खोटाङमा भर्ना गरिएका दुवै जनाको उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टर झिकाएर काठमाडौँ पठाइएको प्रनाउ चिमोरियाले जानकारी दिनुभयो । 

घाइते दुवैलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरेर उपचार शुरु गरिएको गम्भीर घाइते आचार्यका आफन्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका कार्यालय सदस्य कुमार आचार्यले बताउनुभयो । घाइतेलाई काठमाडौँबाट रु एक लाख ८० हजारमा एयर डाइनास्टिक हेलिकोप्टर चार्टर्ड गरेर पठाइएको जनाइएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.