-मनोहर दाहाल
हो हजुर, शराब म पिउँछु,
मेरो आदत खराब , म पिउँछु।।
साँझ बिहान म पिउँछु,
फालेर ज्यान म पिउँछु,
सुखमा नाचेर पिउँछु,
दुखमा हाँसेर पिउँछु,
भलै जीबन गरुङ्गो भएको होस्,
हलुकासङ्ग बाँचेर पिउँछु,
म पिउँछु,र त म जिउँछु ।
तिमी भन्छौ शराबले,
मुटु-कलेजो बिगार्छ।
म छिया छिया भएको मुटुमा ,
रमको मल्हम,
अनि टकिलाको टाँका लगाई सिउँछु,
म पिउँछु, र त म जिउंछु ।
तिमी भन्छौ पिएपछि,
मान्छे आफ्नो अख्तियार भुल्छ।
तिमी अख्तियार भुल्ने कुरा गर्छौ,
म कसैको प्यार भुल्न पिउँछु,
म पिउँछु, र त म जिउँछु।
पिउनेले यहाँ अपराध पीइसके,
म पिउँछु,
आफ्ना पापका पश्चाताप म पिउँछु,
हो हजुर, शराब म पिउँछु,
मेरो आदत खराब , म पिउँछु।।
मेरा धेरै रुपहरु छन्,
मलाइ धेरै ठाउँमा देख्न सक्छौ तिमि,
दिनभरिको कामले लखतरान परेर ,
आनन्दको सास फेरेर,
मेरो एउटा रुप,
आफ्ना हातका ठेउलामा,
तातो पानि र छ्याङ्ग को लेप लाउँछ।
साहुको ऋण तिर्न नसकेर,
तनाब घटाउन मेरो एउटा रुप,
साईली को भट्टी धाउँछ ।
मेरो अर्को रुप,
एउटा लड्डु देखाएर,
अर्को लड्डु लुकाएर,
दुवै हातमा लड्डु लिएर आउँछ,
खुसीले गदगद भै "आज पार्टी गरौं " भन्छ।
समाजमा टिक्ने भन्दा अलि फरक मगज भएको
मेरो एउटा रुप,
जसलाई "बौलाहा" संज्ञा दिइएको छ,
सडकको पेटी मा उसको ठाउँ छ।
"विद्वान छ" भनि कागजले बताइदिएको,
मेरो अर्को रुप,
हरेक साँझ जागिरको खोजि सक्काएर,
रेड ल्याबलको खोजि गर्न आउँछ।
मेरो एउटा रुप,
कसैको झुठो कसम र जुठो प्रेम भुल्न,
साँझ बिहान एक दुइ घुट्का लाउँछ।
कहिलेकाही,
मन्दिरको छेउमा लडेर,
मेरो एउटा रुप,
भगवानसँग बिलाप गर्दै हुन्छ,
कि मेरो कुन जुनीमा नतिरेको ऋण थियो,
जसका कारण,
यो जुनीमा मेरा खुशीहरुको लिलामी गरिदै छ?
कहिलेकाही,
मेरो अर्को रुप ,
मसानमा ढलेर,
जलिरहेको लाशसँगै जलिरहेका सपनाहरु हेर्दै हुन्छ,
मानिस जे का लागि बाँचिरहेको छ,
ति सबै अपुरा हुँदा,
बाँच्न साह्रो हुने रहेछ,
मर्न पनि गाह्रो हुने रहेछ,
मेरो त्यो रुप, जीवन बुझाउँछ।
म पिउँछु,
हातमा आएको ठेउला,
टाउकोमा आएको ऋण,
चरित्रमा आएको आरोप,
सम्बन्धमा आएको दरार म पिउँछु,
हो हजुर, शराब म पिउँछु,
मेरो आदत खराब, म पिउँछु।।
तिमी भन्छौ मलाई के कारणले पिउँछौ,
मेरा धेरै कारणहरु छन् ।
म कहिले शराबमा दुख घोलेर पिउँछु,
कहिले सुख ,
कहिले आँशु घोलेर पिउँछु,
कहिले हाँसो।
तिमी मेरो सितनमा,
पिरो मासु अनि चिउरा देख्छौ,
म अधुरा सपना र अपुरा चाहना देख्छु।
कहिले सुखै सुखको करमा,
कहिले दुखै दुखको दबाब मा पिउँछु,
हो हजुर, शराब म पिउँछु,
मेरो आदत खराब, म पिउँछु ।
तिमी भन्छौ मलाई कति धेरै पिउँछौ,
यति धेरै खर्च गर्छौ कति जोगाउँछौ,
केहि हिसाब छ?
जब जिन्दगीले दुखको साँवा बिनाको ब्याज तिर्यो,
तब बाट गणित प्रति मेरो विश्वास उड्यो,
यहाँ क-कसले कति आँशु पिए?
केहि हिसाब छ?
यहाँ कतिले अरुको पसिना पिए?
केहि हिसाब छ?
कतिले जुठो माया दिए,
कतिले चोखो माया पिए?
केहि हिसाब छ?
हिसाब राख्ने स्वयमले कति हिसाब पिए?
केहि हिसाब छ?
यी सब हिसाब सम्झी ,
बेहिसाब म पिउँछु,
हो हजुर, शराब म पिउँछु,
मेरो आदत खराब, म पिउँछु ।
तिमी भन्छौ मलाई कति धेरै पिउँछौ,
यति धेरै पिएर कतिन्जेली जिउँछौ,
म करले पिउँछु, रहरले पिउँछु,
कहिलेकाहिँ धेरै जिउने,
अनि पल पल मर्ने डरले पिउँछु ।
कोहि कसैको यौबन पिउँदै छ,
कोहि कसैको इज्जत,
कोहि आफ्नो आँशु पिउँदै छ,
कोहि कसैको रगत।
कसैले घुसको भेल पिउँदै छ,
कसैको कानले तेल पिउँदै छ,
कसैले आफ्नो रवाफ पिउँदै छ,
कसैको मुहारले तेजाब पिउँदै छ,
कसैले यी सबको जवाफ पिउँदै छ।
तर, सिर्फ शराब म पिउँछु,
हो हजुर, शराब म पिउँछु,
मेरो आदत खराब, म पिउँछु ।।

No comments:
Post a Comment