मौन बदला : मुक्ति ढकाल - pharaksandesh.com

मुख्य समाचार


Monday, 17 August 2020

मौन बदला : मुक्ति ढकाल

कथा 
माला केही खुसी र केही डरका साथ घरको पुरानो कुर्सीमा बसेर सोचिरहेकी छ्न् । जीवनका २४औं वसन्त पार गरिरहेकी माला संघर्षका साथ अगाडि बढिरहेकी युवती हुन् । उनका यी खारिएका अनुभवलाई बलियो बनाउने काममा मालाकी आमा पुष्पलताको निकै ठूलो भूमिका छ । आमाको प्रेरणा र आफ्नो प्रतिभा, लगनशीलताले गर्दा आज उनी एक सशक्त कृषि अनुसन्धाताका रुपमा उदाएकी छन् । उनको क्षमताका बारेमा यदाकदा समाचार पनि सुनिएका छन्। यसले गर्दा मालाको परिचय अलिक विस्तृत हुँदै गइरहेको छ। यहीबीचमा मालाको विवाहका बारेमा थुप्रै कुराहरु आए। मालाकी आमा पनि अब छोरीले घरजम गरे हुन्थ्यो भन्ने चाहना प्रकट प्रकट गर्छिन् र यदाकदा छोरीलाई सम्झाऊँछिन् पनि । आफन्त र नातेदारका कुराको निचोड पनि विवाह गर्नुपर्छ नै भन्ने आउँछ। विवाहका कुरा आउने क्रममा काठमाडौंको सम्भ्रान्त तिवारी परिवारबाट कुरा आएपछि आज पुष्पलताले छोरीलाई अलिक भावुक रुपमा विवाहको कुरा गरेकी छन् । त्यसैले माला केही खुसी र केही डरका साथ बसेर सोचिरहेकी छन्।

यतिका बर्ष घरमा बस्यो, साथीसंगाती बनायो, आफ्नो भन्यो तर एकदिन सबै छोडेर अर्काको घर जानु पर्ने यो कस्तो चलन होला ? के विवाह एउटी महिलाका लागि अनिवार्य नै हो त ? जस्ता विचार मनमा उति रहेका बेला आमाले पनि छोरी राम्रो कुलघरानबाट कुरा आएको छ,अब बिहे गर्नुपर्छ भनेपछि मालालाई आज आफ्नी आमासित केही कुरा गर्न मन लाग्यो र उनले भनिन् "आमा म तपाईकी एउटै सन्तान! पच्चीस वर्षकै कलिलो उमेरमा विधवा भएर पनि तपाईंले मेरो अनुहार हेरेर जिन्दगी गुजार्नुभयो, मेराखातिर सारा पीडा र आँसु सहनुभयो, अब मलाई बिहे गर भन्दा तपाईंको छाती गह्रुङ्गो हुन्छ कि नाइँ? मलाई विदाइ गरेर पठाएपछि घर र मनमा आउने रित्तो पनि सम्हाल्न सक्नुहुन्छ आमा ?म कसैको घरमा श्रीमती बनेर गएपछि समय र परिस्थिति आफूअनुकूल रहेनन् भने म त पूरै एक्लो हुन्छु भन्ने लाग्छ कि नाइँ आमा?" पहिलोचोटि छोरीका मुखबाट यस्ता गह्रुँगा प्रश्न सुनेपछि पुष्पलताका आँखाका डिलबाट थोपाहरु खसे अनि दौडिँदै गएर छोरीलाई अंगालो हालिन् र सुँक्कसुँक्क गरी केहीबेर मन हलुङ्गो बनाइन् र भनिन् " हेर छोरी! नियतिको नियम अनुसार जे पर्छ त्यो सहँदै जानु नै जिन्दगीको नाम रहेछ । तिमी एक वर्षको हुँदा तिम्रा बाबाले सधैंका लागि छोडेर जानुभयो। सहनुको विकल्प नहुने रहेछ। त्योभन्दा पहिला अरुका बिछोडका कुरा सुन्दा पनि मन डराएर आउँथ्यो। आफैमाथि वज्रपात परेपछि सहनुबाहेक अरू विकल्प भएन। माया गर्ने मान्छेले छोडेर जाँदाको पिडा कस्तो हुन्छ कसरी वर्णन गर्न सकिएला र! त्यसपछिका दिनमा सामाजिक आर्थिक रुपमा भोगेका पिडाहरु यति हुँदा रहेछन् कि मानिसले डर मारेर निडर बन्नैपर्ने रहेछ । एउटा कुरा बुझ्नु छोरी दुःखमा आफन्त पनि आफन्त हुँदैनन्। सहयोग गर्दा आफ्नो हात माथि पार्नेको ठूलो जमात हुन्छ । सबैले एउटै खाले फाइदा हेर्दैनन्।कसैले शरीर त कसैले सम्पत्ति हेर्छन् भने कसैले दुबैको दाऊ हेर्दारहेछन्। यहीबीचमा निस्वार्थ सहयोग गर्ने मान्छे चिन्नु पर्छ । पौडिन नजानेको मान्छे नदीको भुमरीमा परेजस्तै व्यवहारको भुँमरी पनि जटिल हुन्छ। यस्तै हो, जे जस्तो भए पनि जिउनुको विकल्प जिउनु नै हो।" यसरी आमाका दुखजिला तर अनुभव भरिएका कुरा सुन्दा मालाका आँखाका डिल पनि रसिला भए। यसरी आमाछोरीका संवेदनाका कुराले एकअर्काको मनलाई हलुङ्गो बनायो ।

आमाको मनसाय बुझेपछि मालाले भनिन् "आमा म हजुरको कुरा काट्न सक्तिन ।म बिहेका लागि मानसिक रुपमा तयार हुँदैछु, तपाईंले बुझ्नुपर्ने कुरा राम्ररी बुझ्नु होला। म आफै सक्षम छु, मलाई असल र माया गर्ने जीवनसाथी भए पुग्छ, सम्पत्ति र अहम्को फ्युजन भएको व्यक्ति नपरोस् बस् यत्ति चाहना छ आमा। छोरीका कुरा सुनेर पुष्पलताले टाउको हल्लाइन्। पुष्पलताले तिवारी परिवारका बारेमा आफन्तहरु मार्फत बुझिन्। सबैले असल र सभ्य परिवार भएकाले छोरी दिन हुने निष्कर्ष सुनाए। पुष्पलताले पनि सोचिन्, "एकमात्र सन्तान त्यो पनि ११ कक्षादेखि नै भारतमा राखी पढाएका छन्, अवश्य पनि केटा योग्य र असल नै छ होला!" अनि घरतिरबाट नाता पर्ने आफन्त कान्छा ससुराका ज्वाइँ त्यही एरियामा बस्ने भएकाले पुष्पलताले उनीसँग सम्पर्क गरी सारा कुरा बुझिन्। सबैले सम्बन्ध गाँस्न हुने कुरा बताएपछि धेरै दिनदेखि उकुसमुकुस भएको उनको मन केही शान्त भयो। माइत गएर आफ्नी आमा र दाजुभाइसँग पनि कुरा गरिन् । उमेर भएकाले सबैले बिहे गर्दा हुने सुझाब दिए।अन्त्यमा घरपरिवारका दाजुभाइसँग पनि कुरा राखिन् , सबैले बुझेर त्यो परिवारमा नाता सम्बन्ध गाँस्न हुन्छ भन्ने आशययुक्त सल्लाह दिएपछि पुष्पलता पनि ढुक्क भएर बिहेको कुरो औपचारिक रुपमा अघि बढाउने निष्कर्षमा पुगिन् ।

छोरीसँग कुरा भएकै बेला उनले कुरा लिएर आउने लमीलाई बोलाइन् र केटाकेटीको नाम,राशी आदि मिलेमा
विवाह गर्न तयार भएको औपचारिक कुरा गरिन्। सोहीअनुसार लमीले केटाको घरको पनि नाम राशि जुराएर हेर्न दिए। ज्योतिषी बाजेले गज्जबले विवाह गर्न मिल्ने निर्णय दिए र कुरो औपचारिक रुपमा अघि बढ्यो। पारिवारिक भेटघाटले तीव्रता पायो ,भारत अध्ययनरत केटालाई बोलाइयो र केटाकेटीबिच संवाद गराइयो।दुबै सहमत भएको जानकारी अभिभावकले पाएपछि केटाकेटीको रजामन्दीमा विवाहले औपचारिकरुपमा तीव्रता पायो अनि निर्धारित मितिका दिन भव्यरुपमा विवाह सम्पन्न भयो।

बिदाइको क्षण बडो भावुक बन्न पुग्यो। वैधव्य जीवनको साथी बनेकी छोरीलाई बिदा गर्दा पुष्पलताको मन बडो भावुक बन्यो। हर्ष मिश्रित आँसुका थोपा खसे। मालाले बडो कष्टसित आफूलाई सम्हालेर आमालाई सम्झाइन्। बिदा भएर माला पहिलोपटक आमालाई छोड्दै पराया अजनबी घर र मान्छेलाई आफ्नो ठानेर नयाँ दुलही बन्दै नयाँ घरमा भितृइन्। विवाहका सुरुका दिन कसका पो हर्षपूर्ण हुँदैनन् र! मालाले पतिदेवका साथ मज्जैले हनिमून पिरियड विभिन्न ठाउँमा गुमेर मज्जाले मज्जैले मनाइन्। नयाँ साथीलाई उनले ठिकै मानिन्। घुम्ने क्रममा उनले श्रीमान्संग आफूले माया गर्ने इमान्दार साथी कल्पेको कुरा गरिन्। श्रीमान्ले पनि आफु त्यस्तै बन्नेछु भनेर मालाको कुरालाई समर्थन गरे । विवाहको करिब दुई महिनापछि मालाका पति अध्ययनका लागि भारत गए ।माला कहिले माइत र कहिले घर गरी गृहस्थी र काम दुवैलाई अघि बढाउँदै गइन्। भारतबाट फोन,म्यासेन्जर आदिबाट नवदम्पतीका मायालु वार्तालाप भइ नै रहन्थे । आत्मिकता मिसिएको प्रेमका गफ चलि नै रहन्थे ।

घरको साजसज्जा मिलाउन नजानेको भनेर विवाह भएको चौथो महिनामा पहिलोपटक सासुको दुर्वचन मालाले भोगिन्। नरमाइलो मानिन्,रोइन् र श्रीमानसँग यो कुरा शेयर गरिन्। श्रीमान्ले बुढाबुढी यस्तै हुन्छन्, केही कुराको मतलब राख्नुहुन्न भने केही सहनुपर्छ भनेर कन्भिन्स गरे। कुनै संकीर्णता र दुर्वचन बिना हुर्केकी मालाले यो कुरा आमालाई बताउन सकिनन्। मनमै दबाएर राखिन्। शनिबार दिउँसोको फुर्सदमा श्रीमानले छोडेर गएको ल्यापटप चलाउँदै भुलिरहेकी थिइन्, म्यासेन्जरमा एउटा म्यासेज आयो खोलेर हेरिन् कुनै केटीसाथीले अलिकता उत्तेजक पारामा श्रीमान्लाई लेखेका कुरा रहेछन्। मनमा चिसो पस्यो, अन्यथा नलिउँ भन्दाभन्दै त्यही कुरा शंकाको घर बनाएर मालाको मनमा बस्यो। अब हरेक आउने म्यासेजलाई अध्ययन गर्ने काममा मालाको समय बित्न थाल्यो। हेर्दै, खोज्दै जाँदा अरु थुप्रै केटीसंगका त्यस्तै खालका म्यासेज र फोटाहरुसमेत मालाले पत्ता लगाइन्। सहनूँ कसरी ?एक दिन उनले श्रीमान्सँग यी सबै कुराका बारेमा भनिन्। श्रीमान्ले "ह्या आजको एक्काइसौं शताब्दीमा पनि!" भनेर हलुका तरिकाले टार्ने प्रयास गरे। घरमा सासु ससुरालाई बताइन्,सासुले उल्टै मालालाई हप्काउँदै " मर्दका सामान्य कुरामा चासो लिन नहुने र यस्ता शंकाले संबन्ध नै बिग्रन सक्छ" जस्ता अर्ति दिइन् । यसपछि घरमा विवाद सुरु भयो, अझ सासू र बुहारीका बिच त जुहारी नै हुन थाल्यो ।ससुरा केही समय नबोले पनि पछि छोराकै समर्थनमा उत्रिए । यसरी विवाद बढ्दै गएपछि मालाले अझ चासोका साथ श्रीमानका अवैध सम्बन्धका कुराहरु खोज्दै गइन् र थाहा पाइन् श्रीमान् त एक रन्डो पुरुषजस्तो पो रहेछ।

घरमा विवाद बढ्दै गएपछि सासूले फोनमा छोरासँग सारा वृत्तान्त बताइछन् र मालाका पति घर आइपुगे अनि उनले सम्झाउने फकाउने प्रयास गरे । तर श्रीमानका पतित कुकर्म मालाले स्वीकार्न सकिनन्। वादविवाद बढ्दै गयो ।एकदिन राती खाना खाने बेलामा विवाद निकै अगाडि बढ्यो मालाले श्रीमानका सारा कर्तुतका कुरा सबैका सामुन्ने बताइन्। आवेशमा आएका श्रीमान्ले मालालाई बेस्सरी कुटे। माला त्यस रात रोएरै बसिन् । स्वर्गको कल्पनामा सजिएको जीवन नर्कतुल्य बनेकोमा आफ्नै भाग्यलाई दुत्कार्नु सिवाय अर्को उपाय भेटिनन्। घरभित्रको बुहार्तन र यातना झन बढ्दै गयो । श्रीमानले रक्सी धोकेर आएर बेलुकामा सधै पिट्न अनि यातना दिन थाले । यातना असह्य भयो अगाडि अब के गर्ने भन्ने ठूलो समस्या उत्पन्न भयो, भनूँ कसलाई भनूँ ?जसलाई भने पनि आमालाई लगेर सुनाइ दिन्छन् अनि मेरी आमा बाँच्न सक्दिनन् भन्ने कुराले गर्दा उनले कसैलाई सुनाइन् मात्र यातना सहेरै बसिन्। तर वेदनाले असह्य बनाउन थालेपछि केही पर रहेका आफ्ना फुपाजुलाई एकदिन सारा कुरा बताइन्। फुपाजुका परिवार पनि त्यस्तो कुरा सुनेर अचम्भित भए। कताकताबाट पुष्पलताले छोरीले भोगेको यातना थाहा पाइछन् र सुन्दाबित्तिकै उनलाई हृदयघात भयो।कसोकसो छिमेकीले थाहा पाएर हस्पिटल त पुर्‍याएछन् तर उपचारकै क्रममा छोरीको पीरले पुष्पलताले यो संसार त्यागिन्।

माला अस्पताल पुगेर आमाको मृत शरीरलाई अंगालो हालेर चिच्याउँदै रुन थालिन्। सारा उपस्थित आफन्तहरु भावुक बने । संझाइइबुझाई गरेर शवको सदगत गर्ने काम भयो। छोरा भने पनि छोरी भने पनि म नै भएकाले किरिया बस्छु भनेर माला आमाको किरिया बसिन्। विधिविधानसित आमाको काजक्रिया उम्किदासँगै उनकी आमाको मृत्युको कारण उनले भोग्नुपरेको यातना हो भन्ने कुरा मालाले थाहा पाइन् जुन कुरा आमालाई अस्पताल पुर्‍याउने छिमेकीले बताएका थिए । यसपछि मालाले आफ्नी आमाको हत्यारा आफ्नो घर र मूलत: श्रीमान भएको ठानिन्।करिब एक महिनापछि आफ्नो घर त पुगिन् तर आफ्नी आमाको हत्याको मनभरि पीडा,बदला र आक्रोशको ज्वाला बोकेर। घर श्रीमान् ले फकाउने प्रयास गरे। त्यसरी नभएपछि अब यो जाँठी नझुकेर हुन्छ र भन्ने खालको दुर् -व्यवहार गर्न थाले। माला पनि उस्तै नाटक मञ्चनतिर लागिन्। एकदिन श्रीमान्-ले बाहिर डिनरका लागि जाऔँ भन्ने प्रस्ताव राखे। मन त थिएन तर पनि मालाले हुन्छ भनिन् र एउटा पाँचतारे होटेलमा गए, बेलुका खानपान सुरु भयो, श्रीमान्-ले मज्जैले ड्रीङ्स गरे अनि स्विमिङ गरौं भने। मालाले पनि सहमति जनाइन् र दुवैजना स्वीमिङ गर्न लागे। यहीबीचमा श्रीमान्-ले ड्रीङ्स अझ थपे।बेस्सरी नसा लाग्यो । रात बढ्दै गएकाले मानिसहरु पातलिँदै थिए तर यी दुई दम्पतीका चाहिँ विवाद बढ्न थाले । स्विमिङपुलमा उनीहरु दुईजना मात्र भए।नशाको तालमा श्रीमान्-ले भने"मैले नै कोही मान्छे पठाएर तिम्री आमालाई छोरीलाई संझाउन र इज्जतका साथ बस्ने गराउन भन्ने खबर पठाएको र त्यसो नभए छोरीको घरबार बिग्रन सक्ने र कुकुरले नपाउने दु:ख पाउने धम्कीपूर्ण कुरा बताउन लगाएको" कुरा बताए। यहीबीचमा स्वीमिङ गर्दागर्दै मालाका मनमा आफूले भोगेको यातना र आफ्नी आमाको मृत्युको कारण श्रीमान् भएको भाव जाग्यो। झ्वाप्प आवेग र आक्रोशले छोप्यो र मनभरि बदलाको आगो दन्किएर आयो अनि अलिक गहिरोतिर श्रीमान्-लाई जानाजान धकेलिदिइन्। श्रीमान् नशामा लट्ठ थिए मेसो पाएनन् । डुब्दै गएको केही मिनेटपछि बचाउ बचाउ भन्दै माला नै चिच्याइन्। मानिसहरू दौडेर आए र श्रीमान्-लाई बाहिर निकाले र उनले डुब्दा पानी पिएको हुनाले दौडाएर अस्पताल लगे। डाक्टरले "He is no more" भनेर भित्रबाट बाहिर लास निकाले। माला एकमनले साँच्चै रोइन् तर अर्को मनले आफ्नो यातना र आफ्नी आमाको मृत्युको बदला सम्झिएर सन्तुष्ट पनि भइन्।

नारकीय जीवनका केही छोटा वर्ष भोगेकी मालाले देखावा नै भए पनि श्रीमान्-को काजक्रिया गरिन् र त्यस घरबाट आफ्नै आमाको घरमा अर्को नयाँ जीवन यात्राका लागि निस्किएर गइन्। आफ्नो काम, कर्म र भाग्यका बारेमा आफ्नी आमाले सिकाएका कुराहरु अनुसरण गर्दै नयाँ तरिकाले नयाँ जिन्दगी जिउन सुरु गरिन्।जतिसुकै विगत बिर्सेर बाँच्न खोजे पनि आफूले गरेको कर्म उचित थियो या अनुचित भन्ने कुरा आलो घाउको पीडाझै अनुत्तरित बनेर उनको मनमा बल्झिएर सधैं आइ नै रह्यो ...सन्तुष्टि भन्दा पछुतो लाई नै रह्यो......

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.