नेकपा सचिवालय बैठक सोमबार बस्ने - pharaksandesh.com

मुख्य समाचार


Sunday, 16 August 2020

नेकपा सचिवालय बैठक सोमबार बस्ने

काठमाडौँ, ३२ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बिहान बस्ने भएकाे छ । दुई अध्यक्षको सहमतिमा गठन भएको कार्यदलको औचित्यमाथि वरिष्ठ नेताहरूले प्रश्न उठाउनुभएपछि भाेलि छलफलकाे लागि सचिवालय बैठक तय भएकाे हाे ।

शुक्रबार गठन भएको छ सदस्यीय कार्यदलकाे मापदण्ड र सीमा पनि सचिवालय बैठकले गर्ने र अधिकार प्रत्यायोजन गर्ने तयारी नेकपाले गरेकाे छ । 

यसैबीच आन्तरिक विवाद सल्टाउने प्रस्ताव तयार गर्ने गरी जिम्मा पाएको छ सदस्यीय कार्यदल सहमतिको प्रस्ताव तयार गर्न व्यस्त रहेको छ । शुक्रबार गठन भएको कार्यदलले शनिबार पहिलो बैठक बसेर समस्याको पहिचान गर्ने काम गरेको छ । बढीमा एक साताको समयसीमा पाएको कार्यदलले आज आइतबारदेखि विषयवस्तुमा छलफल शुरु गर्ने बताएको थियो ।

सहमति भएका विषयको प्रस्ताव पनि सँगसँगै मस्यौदा गर्ने कार्यदलको तयारी छ । शनिबार महासचिव विष्णुप्रसाद पौडेलको भैँसेपाटीस्थित निवासमा कार्यदलको बैठक आज पनि बसिरहेको छ । कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले ट्वीटमा लेख्नुभएको छ, “बैठक सकारात्मक र समस्या समाधान गर्ने विश्वासका साथ अगाडि बढेको छ ।” कार्यदलले काम शुरु गरे पनि वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल तथा पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई भेटेर कार्यदल गठन गर्ने प्रक्रिया नै गलत भएको टिप्पणी गर्नुभएको थियो ।

महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलमा शङ्कर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य रहनुभएको छ । यसअघि उपाध्यक्ष वामदेव गौतमले साउन १३ गते राख्नुभएको छ बुँदे प्रस्तावअनुसार नै कार्यदलले सहमतिको मस्यौदा तयार गर्ने हिसाबले छलफल गरिरहेको कार्यदलको सदस्यहरूको भनाइ छ । उपाध्यक्षको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.