अनशनरत विद्यार्थीको माग पूरा गर्न आग्रह - pharaksandesh.com

मुख्य समाचार


Monday, 10 August 2020

अनशनरत विद्यार्थीको माग पूरा गर्न आग्रह

काठमाडौँ, २६ साउन : नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा १९ दिनदेखि रिले अनशन बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी पोखरा विश्वविद्यालयमा १० महिनादेखि रिक्त उपकुलपति, रजिष्ट्रर, डिनलगायत पदाधिकारी पदमा तुरुन्त नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गर्दै रिले अनशनमा बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गर्नुभएको हो । 

“१० महिनादेखि रिक्त रहेको पदाधिकारी नियुक्त प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिरहेका बेला सरकार मौन बस्नु उदेकलाग्दो कुरा हो”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेविसङ्घले त्रिभुवन विश्वविद्यालयअन्तर्गत विएससीएजी को ८औँ सेमेष्टर प्रणाली र नतिजा तुरुन्त प्रकाशन गर्नसमेत माग गरेको छ । 

यस्तै, पर्साको वीरगञ्जमा सबै स्वास्थ्य संस्थाहरुमा नियमित स्वास्थ्य सेवा प्रदान गर्न माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीलाई गिरफ्तार गरिएको भन्दै उक्त विद्यार्थीलाई तुरुन्त रिहा गर्नसमेत नेविसङ्घले माग गरेको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले पोखरा विश्वविद्यालयलगायत देशका विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्त नहुँदा हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै तत्काल पदाधिकारी नियुक्त गर्न माग गर्नुभयो । नेविसङ्घले आफूले राखेका माग तत्काल सम्बोधन नभए कडा आन्दोलन गर्नेसमेत जनाएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.