नेपाली कांग्रेसको फागुनमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण सुरू - pharaksandesh.com

मुख्य समाचार


Monday, 3 August 2020

नेपाली कांग्रेसको फागुनमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण सुरू

काठमाडाैँ, १९ साउन : नेपाली कांग्रेसले क्रियाशील सदस्यता संख्या ७ लाख पुर्‍याउने तयारीसहित क्रियाशील सदस्यता नवीकरण र वितरणका काम सुरू गरेकाे छ । नेपाली कांग्रेसले फागुनमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणका काम सुरू गरेको हो । कांग्रेसले आन्तरिक समायोजन गरिएका ६५ जिल्लाभित्रका वडा तहमा क्रियाशील सदस्यताका काम अगाडि बढिसकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

क्रियाशील सदस्यता बाँड्ने काम वडा तहमा रहेको समितिले गर्ने भएकोले संघीय संरचनाअनुसार आन्तरिक समायोजन सकिएका जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको काम अगाडि बढाएको प्रवक्ता शर्माले बताउनुभयो । आन्तरिक समायोजन नसकिएका जिल्ला कार्यसमितिले भने समायोजनका काम सकेपछि क्रियाशील सदस्यताको काम अगाडि बढाउने प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

कांग्रेसले पुस ६ गतेदेखि तल्ला तहमा अधिवेशन गर्ने तयारी गरेको छ । अधिवेशनका मतदाता क्रियाशील सदस्य हुने भएकाले क्रियाशील सदस्यको अन्तिम नामावली केन्द्रीय कार्यालयबाट तल्ला तहमा पठाएपछि मात्रै अधिवेशनका अन्य काम सुरू हुने कांग्रेसले जनाएको छ ।

क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय प्रतिनिधि बनेकाहरू महाधिवेशन प्रतिनिधिका रूपमा महाधिवेशनका मतदाता हुने र उनीहरूले नै सभापतिदेखि केन्द्रीय समिति चुन्ने हुँदा क्रियाशील सदस्यता वितरणमा विगतमा विवाद बन्दै आएको छ ।

यसपटक कम्तिमा दुई लाख क्रियाशील सदस्य थपेर क्रियाशील सदस्यता संख्या ७ लाख पुर्‍याउने कांग्रेसको तयारीअनुसार वडा तहमा अहिले फारम भर्ने काम सुरु गरेको छ । कांग्रेसले जिल्ला कार्यसमितिलाई गत फागुनमा पत्र पठाएर क्रियाशील सदस्यता साविकको संख्याको ५० प्रतिशतसम्म बढाउन सकिने निर्देशन दिइसकेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

कांग्रेसको वडा तहमा कम्तिमा ४२ जना क्रियाशील सदस्य हुनु पर्ने नियम छ। कांग्रेसले साधारण र क्रियाशील सदस्यता गरी दुई प्रकारका सदस्यता वितरण गर्दै आएको छ जसमा साधारण सदस्यता प्राप्त गरेको निश्चित समयपछि संगठनमा उसले पुर्‍याएको योगदान हेरेर क्रियाशील सदस्यता दिने व्यवस्था छ । वडा तहबाट दिइएको क्रियाशील सदस्यतामा विवाद भए छानबिनका लागि केन्द्रमा उजुरी गर्न सकिने व्यवस्थासमेत छ।

क्रियाशील सदस्यता वितरणमा समेत सभापति देउवाले चलखेल गरेको आरोप पौडेल पक्षले लगाउँदै पारदर्शी ढंगले वितरणको माग गरेको छ भने विभागहरू गठन नगर्न भनेको छ भने सभापति देउवाले गठन भएका विभागमा सदस्यहरू थपि रहेनुभएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिका रूपमा आउने चार हजार एक सय २५ प्रतिनिधि र साबिकका केन्द्रीय सदस्य तथा पदाधिकारी कांग्रेसको १४ औं महाधिवेशनका मतदाता हुनेछन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.