विभिन्न देशका लागि राजदूत सिफारिस - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 18 August 2020

विभिन्न देशका लागि राजदूत सिफारिस

काठमाडौँ, २ भदौ : सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका सहसचिवलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वेल्जियम र युरोपियन युनियन तथा पाकिस्तान र जर्मनीका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीलाई वेल्जियम र युरोपियन युनियन, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई नियुक्ति गर्ने सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत समाज कल्याण परिषद् कोषाध्यक्षमा लोकनाथ सुवेदीलाई नियुक्त गरिएको मन्त्री डा खतिवडाले जानकारी दिनुभयो । यसैगरी युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा आर्थिक वर्ष २०७७र७८ का लागि १६ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ । बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्षमा खोटाङका डा देवराज रोकालाई नियुक्त गरेको सरकारका प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो । 

पाँच स्थानीय तहलाई जग्गा
सरकारले पाँच स्थानीय तहलाई परियोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । सरकारका प्रवक्ता डा खतिवडाका अनुसार तिनमा गंगादेवी गाउँपालिका रोल्पा, सुवर्ण गाउँपालिका बारा, गजुरी गाउँपालिका धादिङ, भानु गाउँपालिका तनहुँ र चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाञ्चोक छन् । 

बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पाँच चिकित्सकलाई ११ तहमा बढुवा गर्ने निर्णय गरेको छ । सरकार प्रवक्ता डा खतिवडाका अनुसार बढुवा हुनेमा डा अजित खनाल ग्याष्ट्रो इन्टेरोलोजी, डा मुकेश शर्मा पौडेल ग्याष्ट्रो इन्टेरोलोजी, डा विकास नेपाल जनरल सर्जरी, डा रविनबहादुर बस्नेत युरो सर्जरी र डा शिलु श्रेष्ठ अर्थोपेडिक सर्जरी रहनुभएको छ । यस्तै बैठकले कर्मचारी समायोजनसम्बन्धी समस्या समाधान गर्न नीतिगत व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.