विराटनगरको गुन्द्री बजार सिल - pharaksandesh.com

मुख्य समाचार


Monday, 10 August 2020

विराटनगरको गुन्द्री बजार सिल

विराटनगर, २६ साउन : जिल्ला सुरक्षा समिति, मोरङको बैठकले विराटनगर महानगरपालिका वडा नं. ९ को आंशिक क्षेत्र गुन्द्री बजार सिल गर्ने निर्णय गरेको छ । आइतबार एकै परिवारका ११ जनासहित १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको बैठकले तत्काल उक्त क्षेत्र सिल गरेर स्वाब सङ्कलनको दायरा बढाउने निर्णय गरेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले सङ्क्रमितको सङ्ख्या अधिक देखिएपछि ७२ घण्टा उक्त क्षेत्र सिल गरेर सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलनलाई तीव्रता दिने निर्णय भएको जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि गुन्द्री बजारदेखि पूर्वमा हनुमान मन्दिर (बिप्लट), जलजला मोड, पश्चिम भट्टाचौक, उत्तरमा शनिमन्दिर, दक्षिणमा चुलाचुली मार्ग (ट्राफिक) चौक, दक्षिण–पश्चिम महावीर चौकसहित गुन्द्री बजारसँग जोडिने लिङ्क सडकहरूबाट आवतजावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

विराटनगर–९ मा १३ महिला र २९ पुरुष गरी ४२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हालसम्म गुद्री बजार क्षेत्रका मात्रै दुई जनाको मृत्यु कोभिड–१९ सङ्क्रमणका कारण भएको पुष्टि भएको छ ।

विराटनगरमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४९ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.