प्रदेश नं १ मा आज ६४ जना सङ्क्रमित थप - pharaksandesh.com

मुख्य समाचार


Monday, 24 August 2020

प्रदेश नं १ मा आज ६४ जना सङ्क्रमित थप

विराटनगर, ८ भदौ : पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज थपिएकामा २४ महिला र ४० पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा २९, सुनसरीमा १९, झापामा पाँच, धनकुटामा दुई, संखुवासभामा एक र प्रदेश बाहिरका आठ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

विराटनगरमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको छ । जसमा महिला १० र पुरुष १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । आज देखिने कोरोना सङ्क्रमितमा मोरङको सुन्दरहरैचामा एक महिला र दुई पुरुष, बेलबारीमा एक महिला र एक पुरुष तथा जहदामा एक पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार जिल्ला बाहिर सुनसरीको गढी गाउँपालिकामा तीन महिला र तीन पुरुष, दुहवीमा तीन पुरुष, बर्जुमा चार महिला र एक पुरुष, धरानमा दुई महिला र एक पुरुष, तथा इटहरीमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, झापाको बा¥हदशीमा एक महिला र चार पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा दुई पुरुष, संखुवासभाको खाँदबारीका एक पुरुष र प्रदेश बाहिरका एक महिला तथा सात पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको विवरणमा उल्लेख छ । 

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ७२३ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित भई दुई जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सुनसरीको धरान र विराटनगरका एक÷एक पुरुष छन् । यस प्रदेशमा मृत्यु हुनेको सङख्या १७ पुगेको छ । हालसम्म मृत्यु हुनेमा विराटनगरका १०, धरानका तीन, बुढीगंगा गाउँपालिकाका दुई, रंगेली र सुनबर्षीका एक÷एक जना रहेको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशबाटबाट आज कोभिड–१९ आईसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २८० पुगेको छ भने पछिल्लो २४ घण्टामा यस प्रदेशमा एक हजार ५५० जनाको पीसीआर परीक्षण भइ कुल ७८ हजार ७०२ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ ।

पीसीआर मेसिन हस्तान्तरण
निजी क्षेत्रका विभिन्न संघसंस्था एवं व्यक्तिको सामूहिक सहयोगबाट खरिद गरिएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले आज कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । सो मेसिन नगर प्रमुख भीम पराजुलीले अस्पताल प्रमुख डा चुमनलाल दासलाई हस्तान्तरण गर्नुभएको हो । 

विगत केही दिनदेखि महानगरपालिकामा कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिँदै गएपछि जनस्तरबाट महानगरपालिकालाई पीसीआर मेसिन खरिद गर्न दबाब भइरहेको थियो । प्रमुख पराजुलीको विशेष सक्रियतामा निजी क्षेत्रका व्यक्ति पीसीआर मेसिन खरिद गर्न तत्पर भएका थिए । मेसिन खरिद गर्न पराजुलीले एक वर्षको अवधिमा पाउने सेवा सुविधाबापतको सबै रकम रु सात लाख, स्थानीय समाजसेवी एवं उद्योगी राजेन्द्र राउतले रु सात लाख, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको समूहले रु १० लाख, प्रदेशसभा सदस्य केदार कार्कीले रु एक लाख र नेपाली काङ्ग्रेस विराटनगर महानगर कार्य समितिका सभापति अरुण न्यौपानेले रु.एक लाखगरी सङ्कलित रकमबाट सो मेसिन खरिद गरेको पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिनुभयो ।

यस्तै सोही मेसिन खरिद गर्न केएल दुगडकातर्फबाट रु पाँच लाख, आरती स्ट्रिपले रु. पाँच लाख प्रमुख पराजुलीलाई हस्तान्तर गर्नुभयो भने पीसीआर मेसिन सञ्चालनका लागि आवश्यक पर्ने किट खरिद एवं व्यवस्था गर्न विराटनगरस्थित भाट भटेनीले आजै प्रमुख पराजुलीलाई रु पाँच लाखको चेक हस्तान्तरण गरेको छ । मेसिन जडानपछि विराटनगरमा दैनिक झण्डै एक हजार जनासम्मको पीसीआर जाँच गर्न सकिने बताइएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.