मालपोतका ६ कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 11 August 2020

मालपोतका ६ कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण

उदयपुर, २७ साउन : मालपोत कार्यालय उदयपुरमा मंगलबार ६ जना कर्मचारीसहित १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संगैँ १३ दिनअघि मालपोत कार्यालयका खरिदारमा कोरोना देखिएपछि गरिएको पिसीआर परीक्षणबाट उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

कोशी अञ्चल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कार्यालयका ४४, ३८, ३२, ३२, २७ र २२ बर्षीय कर्मचारीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए । कोरोना पोजेटिभ देखिएका कर्मचारीहरु कार्यालय सहयोगी, कम्युटर अपरेटरदेखि लिएर नायव सुब्बासम्मका छन् ।

१३ दिनअघि कोरोना देखिएका ती कर्मचारीको कन्ट्रयाकट्रेसिनका आधारमा पिसिआर परीक्षण गर्दा त्रियुगा नगरपालिका ९ का उनका ६२ बर्षिया आमा र ३० बर्षिया श्रीमतीमा पनि कोरोना देखिएको प्रमुख सुवेदीले जानकारी दिए ।

त्यस्तै विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट बेलका नगरपालिकाका एकै परिवारका चारसहित सात जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सबै एकै वडाका हुन् भने एक जना लघुवित्तका कर्मचारी हुन् । प्रमुख सुवेदीका अनुसार वडानं ९ का ६८, ३०, २०, ६०, १८, १७ र ३१ बर्षीय छन् ।

दुई साता अघि बेलका न.पा. ९ बजारका दुई व्यापारीलाई कोरोना देखिएपछि उनीहरुको कन्ट्याकट्रेसिनका आधारमा गरिएको परीक्षणबाट एकै परिवारका श्रीमान, श्रीमती, छोरी गरी चार जनामा कोरोना देखिएको हो । त्यस्तै २८ बर्षीय युवा सहारा लघुवित्तका कर्मचारी हुन् ।

जिल्लामा पहिलोपटक एउटै कार्यालयका ठुलो संख्यामा कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिए लगत्तै कार्यालयले १५ दिनका लागि आफ्ना सबै सेवा बन्द गरेको सूचना जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शशीकुमार लम्सालले कोरोना समुदाय स्तरमा देखिएकाले कार्यालयको सेवा प्रवाह र भिडभाड नियन्त्रण सम्बन्धि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय गरिने बताए ।

उनले भिडभाडलाई नियन्त्रण गर्ने र परीक्षणको दायरा फराकिलो बनाइने बताए । उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ३० महिलासहित एक सय ४ जना पुगेको छ । त्यसमध्ये त्रियुगा नगरपालिकामा ५९ जना, बेलका नगरपालिकामा ३१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लामा हालसम्म एक हजार पाँच सय ५२ महिलासहित ६ हजार १५ जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा एक हजार चार सय ५७ महिलासहित पाँच हजार ६ सय १ जनाको रिर्पोट आईसकेको र बाँकी चार सय १४ को आउनेक्रम जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै आठ सय आठ जनाको आरडिटि टेष्ट गरिसकिएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार हाल १८ जना महिलासहित दुई सय जना क्वारेन्टाइनमा छन् भने १८ महिला सहित चार सय ७२ जना होम क्वारेन्टाईनमा छन् । जिल्लामा सकृय संक्रमितको संख्या हालसम्म १९ जना रहेको छ ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.