पहिरोले बेनीघाट–आरुघाट सडकखण्ड अवरुद्ध - pharaksandesh.com

मुख्य समाचार


Saturday, 8 August 2020

पहिरोले बेनीघाट–आरुघाट सडकखण्ड अवरुद्ध

गोरखा, २४ साउन : गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा रहेको बेनीघाट–आरुघाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले आज बिहान गएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिनुभयो ।

बेनीघाट बजारदेखि करिब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताउनुभयोे । “पहिरो फुजेललगायतका क्षेत्रबाट आएका र बेनीघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्”, उहाँले भन्नुभयो, “पहिरो हटाउनका लागि उपकरण खोज्ने काम भइरहेको छ ।”

पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नहेको उहाँको भनाइ छ । “दिनभरि मेशिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्ने छ”, उहाँले भन्नुभयो, “केही दिनअघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ ।”

झण्डै ७० मिटरमाथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । “ठूलाठूला ढुङगा पनि पहिरोसँगै खसेको छ, सानो मेशिनले ढुङ्गा पहिरो हटाउनेसक्ने सम्भावना छैन”, प्रत्यक्षदर्शी सुजन लामिछानेले भन्नुभयो, “पहिरो करिब बिहान साढे १० बजेतिर खसेको हो ।” पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमा नै अलपत्र परेको उहाँले बताउनुभयो ।रासस

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.