गाईमा देखियो नयाँ भाइरस - pharaksandesh.com

मुख्य समाचार


Monday, 3 August 2020

गाईमा देखियो नयाँ भाइरस

दमौली, १९ साउन : तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११ फराकचौरका कृष्ण दरैले पाल्नुभएको गाईमा लम्पी स्क्रिन डिजिज भाइरस देखा परेको हो । 

नेपालको पूर्वी जिल्लामा व्यापकरूपमा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । “पक्स समूहको काप्रिपक्स भाइरसबाट देखिने यो रोग तनहुँमा पनि फेला परेको छ”, डा श्रेष्ठले भन्नुभयो, “नमूना सङ्कलन गरेर ल्याएका छौँ, परीक्षणपछि थप पत्ता लाग्छ, तर सामान्यरूपमा हेर्दा यो लम्पी स्क्रिन डिजिज नै हो ।”

जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परे खबर गर्न सम्बन्धित स्थानीय तहको पशु शाखामार्फत् आग्रह गरिएको छ । “जिल्लाका अन्य ठाउँबाट यो रोगको बारेमा किसानले हालसम्म जानकारी नगराए पनि यो रोग नफैलिएला भन्न सकिन्न”, श्रेष्ठले भन्नुभयो । 

डा श्रेष्ठका अनुसार पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, कजाकिस्तान हुँदै बङ्गलादेश र भारतमा पनि केही महनिा अगाडि देखा परेको थियो । अहिले नेपालको मोरङ, झापालगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्षण देखिई सयांँ गाई बिरामी परेको र केही मरेको जानकारी प्राप्त भएको डा श्रेष्ठले जानकारी दिनुभयो । 

यो भाइरस लागिसकेपछि कचेरा निकाल्ने, सिङ्गान बग्ने तथा फिज धेरै निकाल्ने हुन्छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खाहरु देखिने गरेको डा श्रेष्ठले बताउनुभयो । 

“यो रोग लागिसकेपछि गाईलाई उच्च ज्वरो आउने र दूध उत्पादन ८० प्रतिशतसम्म घट्न सक्छ”, डा श्रेष्ठले भन्नुभयो, “साथै गर्भ तुहिन सक्ने र पछि महिनौँ बाँझोपना देखिन पनि सक्छ ।”

डा श्रेष्ठका अनुसार यो रोग लामखुट्टे, किर्ना आदिको टोकाइको माध्यमबाट र सङ्क्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा सर्छ । “यस रोगको ठोस उपचार नभएको र खोप नेपालमा उपलब्ध नभएकाले पशु चिकित्सकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्न सकिन्छ”, श्रेष्ठले भन्नुभयो । 

डा श्रेष्ठका अनुसार यो रोगबाट गाईलाई बचाउनका लागि लामखुट्टे, झिङ्गा, किर्ना आदिको सङ्ख्या नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा राख्नुपर्छ । 

बेवारिसेको उद्धार 
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ मा एक वर्षदेखि बेवारिसे एक महिलाको उद्धार गरिएको छ । राजमार्ग छेउछाउ अलपत्र अवस्थामा बस्दै आएकी महिलाको बन्दीपुर गाउँपालिका–५ को समन्वयमा आज उद्धार गरिएको हो । 

ती महिलालाई उद्धार गरी उपचारका लागि कोसिस नेपालको कार्यालय ललितपुर पठाइएको वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिनुभयो । “एक वर्षदेखि राजमार्ग आसपासमै अलपत्र अवस्थामा बस्दै आउनुभएकी उहाँलाई कोसिस संस्थासँग सम्पर्क गरी उद्धार गरेर पठाएका छौँ”, लामिछानेले भन्नुभयो ।

लामिछानेका अनुसार शनिबार उक्त महिलाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । कोरोनाको रिपोर्ट नेगेटिभ आएकाले बन्दीपुर गाउँपालिकाकै सवारीमा उहाँलाई उद्धार गरेर लगिएको छ । “उहाँको उपचारका लागि कोसिस नामक संस्थासँग सम्पर्क गरेका थियौँ, उक्त संस्थाले उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि ती महिलालाई उद्धार गरेर पठायौँ”, लामिछानेले भन्नुभयो ।

राजमार्ग आसपासमै बस्ने ती महिलालाई स्थानीयवासीले खानाको व्यवस्था गर्दै आएका थिए । नामथर र घर बताउन नसक्ने ती महिलाको विस्तृत विवरण जानकारी नभएको लामिछानेले बताउनुभयो । “बोल्न त सक्नुहुन्छ, तर आफ्नो बारेमा केही भन्न सक्नुहुन्न, बुझिएअनुसार उहाँको घर लमजुङ हो की भन्ने छ,” उहाँले भन्नुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.