वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 September 2020

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडाैँ, १८ भदौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनयन हुने निश्चित भएको छ ।

राष्ट्रपतिबाट मनोनीत एक रिक्त सदस्यका लागि गौतमलाई पठाउने निर्णयमा सरकार पुगेको प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीले रिक्त राष्ट्रिय सभा सदस्य मनोनयनका लागि गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयमा पुगेको जानकारी दिनुभएकोे प्रवक्ता नारायणकाजी श्रेष्ठले संवाददाताहरुलाई बताउनुभयो ।

पुनः अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउने/नपठाउने विवादका बीच पार्टी एउटा टुंगोमा पुगेको छ । सम्भवतः शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले गौतमलाई सिफारिस गर्न राष्ट्रपतिसमक्ष पठाउने निर्णय गर्नेछ ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)अनुसार नेपाल सरकारको सिफारिसमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट तीन सदस्य मनोनयन गर्ने व्यवस्था छ । राष्ट्रपतिबाट मनोनीत डा. खतिवडाको गोलाप्रथाबाट तय भएको कार्यकाल गत फागुन २० गते नै सकिएको थियो । आगामी भदौ २० गते पुनः संघीय संसद सदस्य नभएको अवस्थामा उहाँ स्वतः पदमुक्त हुनुहुनेछ ।

गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित हुनुभएकाे थियाे। अन्तर्घातका कारण पराजय भोगेको बताउँदै आउनुभएका गौतमले त्यसपछि पटक-पटक सांसद बन्न प्रयास गर्नुभएकाे थियाे। 

यसअघि गत माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूले गौतमलाई आग्रह गरेका थिए तर उहाँले प्रधानमन्त्री बन्न नपाइने राष्ट्रिय सभामा आफू नजाने बताउनुभयाे। 

अर्थमन्त्री युवराज खतिवडाको छ महिने कार्यकाल यही भदाै २० गते सकिँदैछ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.