मच्छिन्द्रनाथको जात्राबारे सहमति, छोटो कार्यविधिबाट जात्रा मनाइने - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 September 2020

मच्छिन्द्रनाथको जात्राबारे सहमति, छोटो कार्यविधिबाट जात्रा मनाइने

ललितपुर, १९ भदौ : वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा सहभागी हुनुभएका ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनका अनुसार, १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत र्हेर्ने र २६ गते मूर्ति बुङ्मतीमा पुर्याएर मन्दिरमा विराजमान गराउने कार्यक्रम रहेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले छोटो कार्यविधि गरी जात्रा मनाउने कुरा भएको जानकारी दिनुभयो । ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टको भनाइ छ ।

उहाँले जातीय समूह, ३१ जना पुजारीहरू, खलः पुच, ज्यापू महागुठी, राजनीतिक दलहरू दिउँसोको घटनालाई लिएर खेद व्यक्त गर्नुभएको बताउनुभयो ।

असोज २ गते अधिकमास सुरु हुन्छ त्यो भन्दा चार दिनअगाडि बुङ्गमतिमा पुगिसक्नुपर्छ भन्ने सरोकारवालाको भनाइ छ । किनभने असोज मसान्तसम्म कुनै पनि साइत ननिस्कने भएकोले अधिकमास सुरु हुनुभन्दा पहिले नै बुङ्गमति पुर्याउनुपर्ने हुन्छ ।

रथयात्राका लागि उपयुक्त साइत रहेको ठानी युवाहरू सडकमा उत्रिएको हुनसक्ने गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । ‘जात्रा रोक्न पाइँदैन, माथिको आदेश चाहिँदैन’, हाम्रो परम्परा हामी अघि बढाउन चाहन्छाैँ’ भन्ने नाराका साथ सैयौँ युवा सडकमा उत्रिएका देखिन्थे । ती युवा सडकमा उत्रिएर करिब २० पाइला रथयात्रासमेत गरेका थिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.