काठमाडौं, २६ भदौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि जनाउनुभएकाे छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ल्याउनुभएको १५ बुँदे प्रस्तावमा एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतको मुद्धा उठाउनुभएकाे नेता नेपाल निकट स्राेतले बताएकाे छ ।
बैठकमा नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्नु पर्नेमा जोड दिँदै अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएको प्रति चर्को असन्तुष्टि जनाउनुभएकाे एक नेताले जानकारी दिनुभयाे ।
उहाँले पार्टी एकताको ५ महिनायता निरन्तर एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतको मुद्धा उठाउँदै आउनुभएकाे छ । उहाँले यसबारेमा प्रचण्डसँग बिहीबारको भेटमा समेत असन्तुष्टि राख्नुभएकाे थियाे ।
नेकपा बैठकमा खाजाका लागि गरिएको ‘ब्रेक’ समयसम्ममा ९ जना स्थायी समिति सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् । धारणा राख्नेमा नेपालसहित स्थायी समिति सदस्यहरु देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्तलगायत हुनुहुन्छ ।
आजको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बैठकमा सहभागी भएर बाहिरिनुभएकाे छ। उहाँले अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर बाहिरिएको बताइएको छ ।
गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गर्नुभएकाे हाे । कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेशन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने, लगायतका विषय समेटिएका छन् ।
कोभिड १९, एमसीसी, लगायतका विषय समेटिएको अध्यक्षद्धयको प्रतिवेदन पारित गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

No comments:
Post a Comment