कोरोना तिमी : सबिता गैह्रे
घुमिरहेको पृथ्वी टक्क अडिन्ने
चलिरहेको सृष्टीमा धावा बोल्ने
कल्पना भन्दा परको स्वरकल्पना
आखिर को हौ ? तिमी कोरोना!!
उहिल्यै भन्नुहुन्थो हजुरबाले
धाेती फेरेर भान्सा पस्नू
मलामी गए नुहाइ लुगा फेर्नु
सौचालयपछि माटो पानीले मिचीमिची हात धुनु
खाएर एक होइन एघार पल्ट कुल्ला गर्नु
अझै ताजै छन् यादहरू
हजुरआमा भन्नुहुन्थो
सकिन्छ बा कलियुग
वेथितिले पराकास्टा नागेपछि
बिर्सदै गयौ हजुर बा अनि आमाका अर्तिलाई
भान्सा होइन रेस्टुरेन्ट पस्न थाल्यौ
शौचालयमा पानीको साटो पेपर आयो
प्रकृतिमाथि धावा बोल्दै
फोर्क अनि पेपर ल्लेटमा खान थाल्यौ
कुला गर्नु त परै जाओस्
न्याप्किनले हात धुन थाल्यौ
यसै गरि युग रुपान्तरण हुॅदै थियो।
अनि तिमी आयौ
र सम्झायौ
बारम्बार हात धुने कुरा
एकलकाटे बन्नै लागेको मानव जीवनलाई
लकडाउनमा पारी
परिवार बीचमा समाहित गरिदियौ
त्यसैले म मान्छु
मानवता हराएको बस्तीमा
साच्चै तिमी
नरसंहार रुप लिएर।
भातृत्व फर्काउन आयौ
तल्लो घर छिमेकीको पानी
माथिल्ला घरकालाई चल्दैन यहाॅ
जातकै नाममा निर्दोस जोडीहरू !
ओ हो !
ठाउँको ठाउँमै मारिनुपर्छ यता
धनकै निम्ति कसैले
आफ्नो विरानो भन्दैन उता
कलिला बालिकादेखि हजुरआमासम्म
दिन दाहाडै लुटिन्छन्
फेरि पनि मौन छ प्रशासन,
त्यसैले, निक्लियौ तिमी विश्व भ्रमणमा
जाति भनेनौ, रङ्ग र लिङ्ग जानेनौ! निसङ्कोच
मानवबाट फैलिदै मानवमा झाङ्गिदै
साच्चै विकराल रुप लियौ
त्यसैले त म फेरी भन्दैछु! पर्ख
मानवमा मानवत्व भरेर जानुछ तिमी।
देख्दैछु विश्वमा मै हॅु भन्नेहरू नै
सत्तामा छन्
तीनै मुकुण्डोभित्र बन्दीछन् खैत
तिनले रोक्न सकेका तिमीलाई
विज्ञानको शक्तिले
किन बाध्न सकेनन् तिमीलाई
त्यसैले हरेक मानवमा पसेर
आफै बोल्दै छौ ! तिमी!
अब! सिक्नुपर्छ विज्ञानको होडवाजीले
हार्नुपर्छ अहम्ताको चुलीले
रोकिनुपर्छ प्रकृतिको चरम विनास
जाति, लिङ्ग र रङ्ग
सहिद हुनूपर्छ यहाँ !
अनि
सत्ययुगको थालनीसँगै!
तिमीलाई
यही संसारले विदाइ गर्नेछ।
हो! कोरोना त्यसपछि फेरि
पृथ्वीले आफ्नै गति लिनेछ
सृष्टिले नयाँ काचुली फेर्नेछ
कल्पना गर्नु पर्ने छैन मानव हुनुको
जब ब्रमाण्डले तत्स्वरुप आकार लिनेछ
दानव बन्नै लागेको मानवलाई ! कोरोना
मानव बनाएर जानेछ।

No comments:
Post a Comment