विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण, पाँच दिन सेवा बन्द - pharaksandesh.com

मुख्य समाचार


Monday, 14 September 2020

विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण, पाँच दिन सेवा बन्द

सुरुङ्गा, २९ भदौ : विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पोजेटिभ पुष्टि भएको छ । अधिकृत पोखरेलको शनिबार स्वाब संकलन गरेर परीक्षण गर्दा आइतबार रिपोर्ट पोजेटिभ आएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नु भएको छ । पोखरेललाई संक्रमण पुष्टि भएपछि महानगरका अधिकांश कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।

महानगरको अत्यावश्यक बाहेकका सेवा ५ दिन बन्द गर्ने निर्णय गरिएको छ । यसअघि विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल र विराटनगर–५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना देखिएको थियो । महानगरपालिका सामान्वय प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाका अनुसार जनप्रतिनिधि र कर्मचारीको नेतृत्व गर्ने प्रमुख प्रशासकिय अधिकृतमा समेत कोरोना संक्रमण पोजेटिभ देखिएपछि असोज २ गतेसम्मलाई अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

महानगरले सार्वजानिक सूचना जारी गरेरै सेवा बन्द गर्ने जनाएको हो । विराटनगर २ का वडाध्यक्ष पोखरेललाई संक्रमण देखिनुअगाडि प्रशासकीय अधिकृत पोखरेल एउटै बैठकमा सहभागी हुनु भएको थियो । विराटनगरमा आइतबार ३८ जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरमा आइतबारसम्म १ हजार ४०२ जना संक्रमित पुगेका हुन् । जसमध्ये १७ जनाको मृत्यु भएको छ भने ३५० जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.