धरान, १८ भदौ : सुनसरीको धरानस्थित बीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । प्रदेश- २ स्थित सप्तरीको राजविराज–७ का ५५ र ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कमजोरी, रक्त अल्पता र मधुमेहको समस्या नियन्त्रण हुन नसकेपछि मृतक ५५ वर्षीय पुरुष गत ४ भदौमा सप्तरीको छिन्नमस्ता अस्पतालबाट रेफर भई आएका थिए । उनलाई तत्काल मेडिसिन वार्डमा राखेर उपचार सुरु गरिएकोमा ७ भदौमा कोरोना पुष्टि भएपछि ८ भदौमा प्रतिष्ठानको कोडिड–१९ उपचार केन्द्रमा सारिएको थियो ।
प्रतिष्ठानको कोभिड–१९ उपचार केन्दको आईसीयुमा उपचाररत उनको बिहीबार १:१५ बजे मृत्यु भएको हो । मृतक पुरुष विगत १५ वर्षदेखि उच्च रक्तचाप र मधुमेहको दीर्घरोगी रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयाे ।
त्यसैगरी, राजविराज–७ कै अर्का ५० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाका अनुसार ज्वरो, श्वासप्रश्वासमा समस्या र ४ दिनदेखि शरीर शिथिल भई बिहीबार राजविराजबाट सिकिस्त अवस्थामा रेफर भई आएका उनलाई अस्पतालको इमेरजेन्सीमा १:२० बजे भर्ना गरिएकोमा उपचारकै क्रममा २:०२ बजे मृत्यु भएको हाे । उहाँले कोरोना पोजिटिभ देखिएका मृतक पुरुष मधुमेहका दीर्घरोगी रहेको बताउनुभयाे ।

No comments:
Post a Comment