दूरी कायम गरी पशुपति मन्दिर खोल्न माग गर्दै धर्ना - pharaksandesh.com

मुख्य समाचार


Friday, 18 September 2020

दूरी कायम गरी पशुपति मन्दिर खोल्न माग गर्दै धर्ना

काठमाडौं, २ असोज : छ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा भक्तजनले धर्ना दिन थालेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि बन्दाबन्दी लगाएपछि पशुपतिनाथ लगायत मठ, मन्दिर, बौद्ध, स्वयम्भू लगायत गुम्बा, चैत्य भक्तजनका लािग बन्द गरिएकामा अन्य क्षेत्र खुल्दा पनि धार्मिक स्थलतर्फ सरकारको ध्यान नगएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा पशुपति क्षेत्रमा शान्तिपूर्ण धर्ना दिइएको हो ।

भौतिक दूरी कायम गरी सुरक्षाका सबै उपाय अपनाएर धार्मिक, सांस्कृतिक स्थल खुला गर्न माग गर्न बसेका शान्तिपूर्ण धर्नाकारीमाथि प्रहरीले लाठीचार्ज गरी दुई जनालाई घाइते बनाएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले राससलाई जानकारी दिनुभयो । प्रहरीले विश्व हिन्दू युवा सङ्घका संयोजक ऋषिकेशजङ्ग शाह, महासङ्घका पुष्प पराजुली लगायतलाई लाठी प्रहार गरी घाइते बनाएको छ ।

धर्नापछि आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले वैदिक सनातन एवं ओमकार परिवारभित्रका बौद्ध लगायत मौलिक धर्मलाई सिध्याउने खेल भइरहेकाले सचेत हुन आह्वान गर्नुभयो ।

पशुपति क्षेत्र विकास कोषले असार अन्तिम साता महामारीमा मन्दिर खोल्ने सम्बन्धी मापदण्ड बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पेश गरेको छ । मन्दिर खोल्ने मापदण्ड मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेकोसम्म जानकारी प्राप्त भएको कोष सञ्चालक परिषद् सदस्य संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

गत हप्ता कमलादी गणेश मन्दिर दुई दिन खुला भएपछि भीड बढेकाले बन्द भएको थियो । धार्मिक अभियानकर्मी प्रकाशजङ्ग रायमाझी पशुपतिको फूल, प्रसाद, चन्दन बाहिर ल्याएर वितरण गरी मूल मन्दिरभित्र प्रवेश गर्न दिनु नहुने बताउनुहुन्छ ।

उपत्यकामा कोरोना सङ्क्रमण बढिरहेको, स्वास्थ्य पूर्वाधार नभएको, सरोकार भएका निकायको यसतर्फ ध्यान नगएको अवस्थामा मन्दिरभित्र प्रवेश गर्न दिँदा असहज अवस्था आउन सक्ने भएकाले धैर्य गर्नुपर्ने उहाँको भनाई छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.