रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती पुर्‍याइयाे - pharaksandesh.com

मुख्य समाचार


Monday, 14 September 2020

रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती पुर्‍याइयाे

काठमाडाैँ, २९ भदौ : वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाइ बुङगमती पुर्‍याइएकाे छ । 

साेमबार बिहान साइतमा पूजा गरेर २ बजे पुल्चोकको सोह्रखुट्टे पाटीबाट रातो मच्छिन्द्रनाथलाई रथबाट ओरालेर खटमा राखेर बुङमती लगिएको हो । गएकाे वैशाखमै बुङमती लैजानुपर्ने भए पनि कोरोना महामारीका कारण अन्याेल बनेको थियो । कारोनाकै कारण यो वर्ष भोटो पनि देखाइएन । विगतमा भोटो नदेखाएर मच्छिन्द्रनाथलाई बुङमती लगिएको इतिहास नभएको जानकारहरु बताउँछन् ।

कोरोना भाइरसले यस पटकको मच्छिन्द्रनाथको रथजात्रा प्रभावित बन्यो । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण जात्रा हुने/नहुने अन्याेल थियो । अन्याेलकै बीच केही दिनअघि स्थानीय युवाहरुले पुल्चोकबाट रथ तान्न खोज्दा झडपसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका बेला युवाहरुले रथ तान्न खोजेपछि झडप भएको थियो ।

प्रशासनले त्यस क्षेत्रमा एक दिन कर्फ्युसमेत आदेश जारी गरेको थियो । अवस्था असहज बन्ने देखिएपछि सरोकारवालाहरुले रथयात्रा एक दिनमा सीमित गर्दै जात्रा टुङ्ग्याउने निर्णय गरेका थिए । त्यही निर्णयअनुसार मच्छिन्द्रनाथलाई साेमबार बुङमती लगिएको हो । विगत वर्षहरुमा लगनखेलको इटीटोलबाट रथ तानेको चोथाै दिनमा भोटो देखाएर मात्रै बुङमती लग्ने प्रचलन भए पनि यो पटक भने सम्भव भएन । 

मच्छिन्द्रनाथलाई बुङमती फिर्ता लग्ने दिन राष्ट्रपतिलगायतका विशिष्ट अधिकारीहरु जात्रा अवलोकनका लागि जाने गरेको भए पनि यो वर्ष सम्भव भएन । बुङमतीबासीहरु रातो मच्छिन्द्रनाथलाई स्वागत गर्न भेला भएका थिए ।

यसअघि साउन १० गते मच्छिन्द्रनाथलाई तबहालबाट पुल्चोक पुर्‍याएर त्यहाँ रथारोहण गरिएको थियो । मच्च्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङमती राख्ने चलन रहँदा यस वर्ष लगभग नौ महिना मच्छिन्द्रनाथ पाटनमै रहे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.