हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनको राजपरिवार - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 September 2020

हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनको राजपरिवार

त्रिभुवन विमानस्थलमा हिमाल आरोहणका लागि नेपाल आइपुगेको बहराइनको टोली । फोटो सौजन्य : मिङमा शेर्पा
काठमाडौं, ३१ भदौ : मनास्लु र लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहितको टोली आज बुधबार काठमाडौं आइपुगेको छ ।

बुधबार विहान साढे ११ बजे त्रिभुवन विमानस्थल आइपुगेको टोलीमा १८ जना रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । टोलीमा तीनजना बेलायती नागरिक छन् भने बाँकी सबै बहराइनी नागरिक हुनुहुन्छ ।

रोयल गार्ड बहराइनको सो टोली विशेष विमानमार्फत काठमाडौं आइपुगेको हो।उहाँहरुले ८ हजार १६३ मिटर उचाईको मनास्लु र ६ हजार ११९ मिटरको लोबुचे हिमाल आरोहण गर्नुहुनेछ ।

राजपरिवार सदस्य सहितको टोली पहिलोपटक हिमाल चढ्न लागेको हो।बहराइन राजपरिवार सदस्य मोहम्मद हामद मोहम्मद अलखालिफाले हिमाल आरोहणको नेतृत्व गर्नेछन्।बेलायती नागरिकहरु रिचार्ड वारेन म्याकनेल, फिलिप क्लो र क्रिस्टोफर एन्थोनी पनि टिमका सदस्य छन्।

उक्त टिममा बहराइनका इब्राहिम मोहम्मद अब्दुल्लाह इब्राहिम मोहम्मद, मोहम्मद अलि जासिम अहमद अल्बोइनाइन, अराफात हमुद नाजी गुर्वाह, इब्राहिम खली इब्राहिम जायेद मोहम्मद अल्जाजाफ, अहमद सइद इसा अल्काबी, आरिफ फिरोज शाह मुराद कलन्दर गुलाम, मोहम्मद अदुल रहमान युसुफ अल्कावारी, खालिद अलि हसन इब्राहिम हसन अल्दोसेरी, अब्दुलाजिज राफेया अब्बर खालिफ अलावेद, खालिद सुल्तान मोहम्मद अब्दुल्लाह अल्शिर्वाई, मुराद मोहम्मद युसुफ अब्दुल सायेद, इब्राहिम अलि सालेम जावेर, सउद हमाद मुबारक हमाद इद र मोहम्मद इसा अब्दुल्लाह युसुफ अल्क्विस छन्।

टोलीलाई लोबुचे हिमाल चढ्न दुई हप्ता र मनास्लु चढ्न एक महिना लाग्नेछ । नेपालमा रहँदा उहाँहरुलाई नेपालका गाइडलेसमेत सहयोग गर्नेछन्।

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य पछिल्लो १५ दिन देखि सेल्फ क्वारेन्टिनमा रहनुभएको थियो । त्यसपछि गरिएको कोरोना परीक्षणको नतिजामा सबैको नेगेटिभ नतिजा आएको छ ।

यो टोलीले नेपालमा रहँदा समेत सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्ने भएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.