कोरोना संक्रमितको नि:शुल्क उपचार नगर्ने निर्णय सरकारले फिर्ता लिनुपर्छ : माधव नेपाल - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

कोरोना संक्रमितको नि:शुल्क उपचार नगर्ने निर्णय सरकारले फिर्ता लिनुपर्छ : माधव नेपाल


काठमाडौं, ४ कात्तिक :
नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमितको उपचार नि:शुल्क नगर्ने सरकारको निर्णय फिर्ता लिन माग गर्नुभएकाे छ।

मंगलबार एक विज्ञप्ति जारी गरी नेता नेपालले यस्ताे बेलामा सबै नागरिकको उपचार गर्नुकाे साटो सरकारले नागरिकमा थप आतंक सिर्जना हुने गरी गरेको विभेदकारी, गैरजिम्मेवारी र जनताप्रति अनुत्तरदायी निर्णय गरेकोमा असन्तुष्टि जनाउनुभयाे ।

उहाँले अबिलम्ब उक्त निर्णय फिर्ता लिन सरकारलाई दबाब आग्रह गर्नुभएकाे छ।

उहाँले भन्नुभयाे, "संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ। यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो।'

सरकारले गत आइतबार कोरोना संक्रमितले आफ्नो उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयमाथि चौतर्फी आलोचना हुँदै आइरहेको छ। 

यस्तो छ माधव नेपालको प्रेस विज्ञप्ति :
मुलुक कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै विरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन्।

संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो।

संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.