कामदारमा कोरोना देखिएपछि तातोपानी नाका खुलेको एकदिनमै बन्द - pharaksandesh.com

मुख्य समाचार


Wednesday 7 October 2020

कामदारमा कोरोना देखिएपछि तातोपानी नाका खुलेको एकदिनमै बन्द


सिन्धुपाल्चोक, २१ असाेज :
सातजना कामदारमा कोरोना देखिएपछि सोमबारदेखि खुलेको नाका आजदेखि पुनः बन्द भएको छ ।

बाढी तथा पहिराको कारण करीब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक दिनमै पुनःबन्द भएको हो ।

भन्सार सामग्री लोड अनलोड गर्ने मजदूरमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि चीनले नाका बन्द गरेको हो । चीनतर्फ सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरको स्वास्थ्य परीक्षण गर्दै स्वाब सङ्कलन गरिएकामा सात जनामा सङ्क्रमण देखिएपछि चीनले एकतर्फी रुपमा बन्द गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।

नेपालमा परीक्षण गर्दा ती मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आए पनि चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकाले अर्को सोमबारसम्मका लागि आयातनिर्यात बन्द गरिएको हो ।

सबै चालक र मजदूरको पाँचपाँच दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलशनमा राखेर उपचार गरिँदैछ । ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो ।

यही असोज १३ गते नेपाल-चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरस नियन्त्रण गर्ने शर्तमा नाका खुलाउने सहमति भएको थियो ।

खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दशैँअघि काठमाडौं पुर्‍याउने योजनानुसार दुवै देशको सहमतिमा नाका खुलेको थियो । आइतबार बेलुकीदेखि सोमबार बिहानसम्म चीनको खासाबाट १२ कन्टेनरबाट लत्ताकपडा, तयारी कपडा सहित केही तयारी सामग्री तातोपानी भित्रिएको थियो ।

यसैबीच अत्यधिक रक्तश्राव भएपछि एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोटेकोशी गाँउपालिका –१ बगाम निवासी ३८ वर्षीया दालामु शेर्पाको गाउँपालिकाले आज आफ्नै खर्चमा उद्धार गरेको हो ।

सोमबार सुत्केरी हुनुभएकी शेर्पाको रक्तश्राव नरोकिएकाले तत्काल उद्धार गर्नुपर्ने देखिएपछि उहाँको गाउँपालिकाको पहलमा उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

शेर्पाले सोमबार चौंरी गोठमा शिशु जन्माउनुभएको थियो । शिशु जन्मेपछि पनि रक्तश्राव नरोकिएपछि स्थानीयवासीले स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । सुत्केरीको आज अपराह्न २ बजे उद्धार गरी थापाथली अस्पताल पठाइएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.