‘लाञ्छनारहित सुरक्षित गर्भपतनको आवश्यकता’ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 22 October 2020

‘लाञ्छनारहित सुरक्षित गर्भपतनको आवश्यकता’


मोरङ, ६ कात्तिक :
लाञ्छनारहित सुरक्षित गर्भपतनका लागि समाजमा जनचेतना जागृत गराउन सञ्चारकर्मीको ठूलो भूमिका रहेको यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

नेपाल परिवार नियोजन सङ्घ मोरङद्वारा बुधबार यहाँ आयोजित ‘लाञ्छनारहित सुरक्षित गर्भपतनसम्बन्धी सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण’ कार्यक्रममा उनीहरुले महिलाको आफ्नो शरीरमा पहिलो हक हुनाले सुरक्षित गर्भपतन मानवअधिकारको हक पनि रहेको बताएका हुन् । 

सामाजिक लाञ्छनाका कारण महिलाको आत्महत्यामा वृद्धि हुने, उनीहरुमा आत्मविश्वाको कमी हुने, सामाजिक बहिष्कार हुने, वैवाहिक सम्बन्ध टुट्ने, तथा असुरक्षित गर्भपतन हँुदा मातृमृत्युदर बढ्ने हुनाले यसलाई नियन्त्रण गर्न सञ्चारकर्मीहरुले आफ्नो क्षेत्रबाट सुरक्षित गर्भपतनका सम्बन्धमा जागृत गराउने भूमिका खेल्नुपर्नेमा उनीहरुको जोड थियो ।

सङ्घ जिल्ला प्रमुख शङ्कर दाहालले लाञ्छनारहित सुरक्षित गर्भपतन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने केन्द्रीय सदस्य सुवास निरौला र युवा संयोजक स्नेहा गुभाजुले सुरक्षित गर्भपतन बाध्यात्मक परिस्थितिको उपज हो, यो परिवार नियोजनको साधन होइन भन्नुभयो । 

सङ्घले सन् २०२० को पहिलो छ महिनाको अवधिमा ५१ हजार व्यक्तिलाई विभिन्न प्रकारका सेवाप्रवाह गरेको छ । कोरोना महामारी यस विषम परिस्थितिमा पनि सङ्घले आफ्नो सेवालाई निरन्तर प्रवाह गरिरहेको छ भने ‘निःशुल्क सेनेटरी प्याड’ वितरणका सम्बन्ध केन्द्रमा प्रस्ताव पठाएको प्रमुख दाहालले जानकारी दिनुभयो । सङ्घले दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मीहरुबाट १२ हप्तासम्मको सुरक्षित गर्भपतन न्यूनतम शुल्कमा गर्दै आएको बताइएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.