कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै - pharaksandesh.com

मुख्य समाचार


Friday, 27 November 2020

कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै


ललितपुर, १२ मङ्सिर :
हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य आज राति मञ्चन हुँदैछ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण दुई दिन मात्र प्रदर्शन गर्न लागिएको हो । महामारी अझै मुलुकमा रहिरहँदा आज राति बराह नाट्य महोत्सव आयोजना गरेर विष्णुपुराणमा आधारित कथाअनुसार हिरण्याक्ष दैत्यको वध गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष हामी परम्परा धान्न मात्र राति करीब ९ बजेदेखि ११.३० सम्म नृत्य मञ्चन गर्ने तयारीमा छाँै ।” अन्य वर्ष झैँ यस वर्ष पनि कार्तिक नृत्यलाई निरन्तरता दिन ललितपुर महानगरपालिकाले रु दुई लाख र वडा नं १६ ले बराहको मुकुट बनाउन सहयोग गरेको चित्रकारले जानकारी गराउनुभयो । 

गत वर्ष पनि वडा नं १६ ले समितिलाई नृसिंहको मुकुट बनाइदिएको थियो । पाटन कृष्ण मन्दिर नजीकै रहेको ‘कार्तिक डबली’ मा राति नृत्य मञ्चन गर्न मञ्चलगायत आवश्यक वस्तुको तयारी भइसकेको छ । दिनानुदिन देखिएको कोभिड–१९ का कारण सामाजिक दूरी कायम गरेर आवश्यक कलाकार मात्र उपस्थित गराइने समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा कात्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि रोकिएको सुनिएको छैन ।” 

आफूनो उमेर ढल्केर बढ्दो रोगका कारण आज राति उपस्थित हुन नपाए तापनि नाकानाकामा स्थानीय स्वयंसेवक परिचालन गरेर थोरै दर्शकको उपस्थितिमा नाच चलाउनुपर्ने पाटन निवासी ७६ वर्षीय विजेन्द्रलाल श्रेष्ठले सुझाव दिनुभयो । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । सो नाच विश्वकै नाचमध्ये सबैभन्दा लामो भएको जिकिर गरिएको छ । 

कात्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ । कात्तिक नाच प्रथम पटक पाँच दिन तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको जानकार बताउँछन् । 

यसैगरी श्रीनिवासका छोरा राजा योगनरेन्द्रले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला पछि थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको जनाइएको छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ । सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरेको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । 

आज राति देखाइने कार्तिक नृत्यमा १८ वर्षमुनि र ६० वर्षमाथिका मानिसलाई कलाकारमा संलग्न नगराइने भएको छ । सो उमेर समूहका मानिसमा कोरोनाको जोखिम बढी रहने भएको हुँदा समितिले सो निर्णय गरेको समितिका सचिव विजय तण्डुकारले बताउनुभयो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.