काठमाडाैँ, २० कात्तिक : नेपाली कांग्रेसभित्र देखिएको विवाद सहमतिमा नपुगेपछि केन्द्रीय समिति बैठक सरेको छ। आज पदाधिकारी र पूर्वपदाधिकारीहरू छलफलमा बसे पनि ठोस सहमति बनेको छैन।
सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्य सहितको अनौपचारिक बैठकलाई शुक्रबार पनि निरन्तरता दिने बताउनुभएको छ । सहमहामन्त्री प्रकाशशरण महतले बैठकमा नेताहरूले आफ्ना कुरा राख्ने क्रम नसकिएकाले भोलि पुन बैठक बस्ने बताउनुभयो । उहाँका अनुसार भोलि बस्ने भनिएको केन्द्रीय समिति बैठक कात्तिक २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आउनुभएको छ । १४ औं महाधिवेशन सुनिश्चितता र विधानअनुसार पार्टी सञ्चालन हुनुपर्ने पौडेल पक्षको भनाइ छ। सभापति देउवाले मनोनित गरेका विभाग खारेज गर्नुपर्ने पनि पौडेल पक्षको अडान छ।
पौडेलसहित उहाँ पक्षका २७ केन्द्रीय सदस्यले पार्टीलाई विधि विधानअनुसार सञ्चालन गर्नुपर्ने माग राखेर गत असोज १२ मा १६ बुँदे विरोध पत्र बुझाउनुभएको थियो । उक्त विरोध पत्र तथा १४ औं महाधिवेशनबारे छलफल गरी निणर्य गर्न सभापति देउवाले केही दिनदेखि पदाधिकारी र पूर्वपदाधिकारी बैठक गर्दै आउनुभएको छ । पौडेल पक्षले विभागहरू खारेज गर्न गरेको मागलाई सभापति देउवा पक्षले भने अस्वीकार गर्दै आएको छ। विभाग गठन ढिला गरे पनि विधानविपरीत भने नहुने देउवा पक्षको अडान छ।
यस्तै अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई सभापति देउवाले तोकआदेशका भरमा क्रियाशील सदस्यता दिएको भन्दै पौडेल पक्षले विरोध गरेको छ। कांग्रेस महाधिवेशन फागुन ७ देखि काठमाडौंमा गर्ने कार्यतालिका भएपनि क्रियाशील सदस्यताका काम सकिएका छैनन्। सभापति देउवाको कार्यकाल फागुन १९ गतेसम्म छ।

No comments:
Post a Comment