अमेरिका निर्वाचन २०२०: अहिलेसम्म अन्तिम परिणाम किन आउन सकेन ? - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

अमेरिका निर्वाचन २०२०: अहिलेसम्म अन्तिम परिणाम किन आउन सकेन ?


अमेरिका, १९ कात्तिक :
अमेरिकामा मतदान सम्पन्न भएको घण्टौँ बितिसक्दा ह्वाइट हाउसको प्रतिस्पर्धामा डोनल्ड ट्रम्प र जो बाइडनमध्ये को विजयी हुन्छन् भन्ने अझै स्पष्ट हुन सकेको छैन। किन त?

पछिल्ला केही वर्षमा सामान्यतया मतदान सम्पन्न भएकै रात परिणाम आउने गर्दथ्यो तर त्यस्तो स्पष्टता हुन नसक्ने सम्भावना सधैँ हुन्छ।

यसपालि कोरोनाभाइरस महामारीका कारण करोडौँ अमेरिकी नागरिकले हुलाकमार्फत् मतदान गरेका छन्।

त्यसैले मतगणनामा समय लाग्नु स्वाभाविक नै हो भन्ने गरिन्छ।

अमेरिका निर्वाचनको अन्तिम परिणाम कहिले आउला?
निर्वाचन भएकै रातमा मतगणना परिणाम यस्तो आउँछ भन्ने प्रायः स्पष्ट हुने गरेको थियो।

भिन्न राज्यले भिन्न समयमा मतदान टुङ्ग्याउँछन्। पूर्वी तटमा स्थानीय समयानुसार साँझ ७ बजे (नेपाली समयानुसार बुधवार बिहान ५:४५ बजे) मतदान सम्पन्न भयो।

सबै ठाउँमा सबै मतको गणना राति नै हुन सम्भव छैन। तर विजेता सुनिश्चित हुनेगरी पर्याप्त मत गनिन्छ।

कुनै राज्यमा एउटा उम्मेदवारले विशाल अग्रता लिएको देखिए अमेरिकी सञ्चारमाध्यमहरूले त्यो राज्यमा उनको दल विजयी हुने प्रक्षेपण गर्छन्।

त्यो आधिकारिक अन्तिम परिणाम हैन। तर प्रायः त्यस्तो प्रक्षेपण मिल्छ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनमा मतका आधारमा नभई राज्यको आधारमा छिनोफानो हुन्छ।

प्रत्येक राज्यमा विजयीले केही "इलेक्टरल" मत हात पार्छन्। त्यो प्रायः जनसङ्ख्याका आधारमा निर्धारण गरिएको हुन्छ।

राष्ट्रपति निर्वाचित हुन त्यस्ता २७० मत आवश्यक पर्छ।

सन् २०१६ मा विस्कन्सिनमा जितेपछि नोभेम्बर ४ को बिहान २:३० ईएसटी (नेपाली समयानुसार दिउँसो) डोनल्ड ट्रम्प राष्ट्रपति बन्ने सुनिश्चित भएको थियो।

यो वर्ष किन पहिलाभन्दा भिन्न?
कोरोनाभाइरस महामारीको अवस्थामा पहिलाभन्दा बढी मानिसले मतदान गरे। धेरै मतदाता हुलाकमार्फत् पठाइने मतदानमा सहभागी भए।

मतदाताको हस्ताक्षर र ठेगाना रुजु गर्नुपर्ने हुँदा हुलाकमार्फत् पठाइएको मतपत्र गन्न समय लाग्छ।

फ्लोरिडा र केही अन्य राज्यले केही साताअघि नै त्यस्तो मतदान सुरु गरेका थिए।

फ्लोरिडाबाट ट्रम्पको पक्षमा परिणाम आइसकेको छ।

राज्यहरूले के कुरिरहेका छन्?
पेन्सिल्भेनिया र विस्कन्सिनजस्ता राज्यमा नोभेम्बर ३ मा मतदान नसकिएसम्म अग्रिम मतदानका मतपत्रहरू हेरिँदैन।

तसर्थ यी राज्यको परिणाम महत्त्वपूर्ण भइदिन सक्छ।

यसपालि त्यहाँका निर्वाचन अधिकारीहरूले मतगणना गर्न केही दिन लाग्न सक्ने बताइसकेका छन्।

जोर्जिआ, मिशिगन र नोर्थ क्यारलाइनाजस्ता महत्त्वपूर्ण राज्यमा पनि अहिलेसम्म यसै हुन्छ भन्न सकिने स्थिति छैन।

मतगणना अरू के कारणले ढिलो?
पचासमध्ये झन्डै आधा राज्यमा हुलाकबाट आउने मतपत्र नोभम्बर ३ कै दिन पठाइएको छ भने त्यो ढिलो आइपुग्दा पनि मान्य हुन्छ।

त्यसैले केही समय सबै मतपत्र गनिएको हुँदैन।

यसपालि पहिला हुलाकबाट मत पठाएको भए पनि मङ्गलवार आफैँले मतदान गरेका मानिसको सङ्ख्या बढेको अनुमान गरिएको छ।

त्यस्तो अवस्थामा हुलाकबाट प्रेषित मत मान्य हुँदैन। दोहोरो मत नपरोस् भनेर जाँच गर्न समय लाग्छ।

मतगणना कसरी हुन्छ?
मतपत्र र डिजिटल भोट दुवैको गणना उपकरणबाट हुन्छ।

तर उपकरणले प्रशोधन गर्न नसकेका मतपत्रहरू निर्वाचनका लागि खटिएका कर्मचारीहरूले हातैले गन्नुपर्छ।

मतदान सकिएपछि मतको तथ्याङ्क निर्वाचन गराउने निकायको केन्द्रमा पठाइने गर्छ।

कहिलेकाहीँ विद्युतीय माध्यमबाट त्यसो गरिन्छ।

तर अन्यत्र मतदानको डेटा सङ्गृहीत विद्युतीय साधनलाई भौतिक रूपमै निर्वाचन केन्द्रमा लग्नुपर्छ अथवा फोनबाट त्यस्तो जानकारी दिनुपर्छ।

मतको विवरण प्राप्त भइसकेपछि राज्यको आधिकारिक वेबसाइटमा त्यो प्रकाशित हुन्छ।

कतैकतै पत्रकारहरूलाई राज्यका निर्वाचन अधिकारीहरूले त्यस्तो विवरण उपलब्ध गराउँछन्।

राज्यमा पर्याप्त सङ्ख्यामा मत गनिसकेपछि विशाल अग्रता भएका उम्मेदवारलाई समाचारसंस्थाहरूले विजेता घोषित गर्छन्।

यस्ता अनौपचारिक परिणाम हप्तौँपछि राज्यका अधिकारीहरूले प्रमाणित गरेपछि मात्र आधिकारिक हुन्छन्।

अन्तिम परिणाम र प्रारम्भिक गणनामा केही अन्तर भए पनि प्रायः ठूलो फरक पर्दैन।

मतपरिणामबारे विवाद सिर्जना भयो भने के हुन्छ?
कोरोनाभाइरस महामारीका कारण ४४ राज्यमा अहिलेसम्म निर्वाचनसम्बन्धी ३०० वटाभन्दा बढी मुद्दा परेको स्ट्यान्फर्ड-एमआ‌ईटी हेल्थी इलेक्शन प्रोजेक्टले जनाएको छ।

अनि राष्ट्रपतीय निर्वाचनमा अनेक मुद्दा पर्न सक्छन् - मतदाताको परिचयदेखि हुलाकमार्फत् भएको मतदान अनि कोभिडका कारण निर्वाचनमा गरिएका परिवर्तनबारे पनि।

पदासीन राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणामको विवाद सर्वोच्च अदालतसम्म पुग्ने चेतावनी दिइसकेका छन्।

सन् २००० मा डेमोक्र्याटिक पार्टीका उम्मेदवार एल गोरले फ्लोरिडामा ५३७ मतको अन्तरले हारे। त्यहाँ झन्डै ६० लाख मत परेको थियो।

त्यसबारे मुद्दा पर्‍यो र एक महिनासम्म पुनर्गणना भयो।

तर सर्वोच्च अदालतले रिपब्लिकन उम्मेदवार जर्ज डब्ल्यू बुशको पक्षमा निर्णय सुनाइदियो। (बीबीसीबाट)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.