काठमाडाैँ, २९ कात्तिक : अमेरिकी पत्रकार तथा एन्थ्रोपोलोजिष्ट डा. बार्बारा निम्री अजिजद्वारा लिखित खोजमूलक पुस्तक "योगमाया एण्ड दुर्गादेवी:रेबेल विमीन अफ नेपाल" को शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री गिरिराजमणी मन्त्री पाेख्रेलले बिमोचन गर्नुभएकाे छ । कोभिडको कारण भर्चुअल माध्यमबाट गरिएको पुस्तकको बिमोचनमा नेपाल , अमेरिका ,बेलायत ,क्यानाडाबाट उपस्थित रहेकाे थियाे ।
मन्त्री पाेख्रेलले बिमोचनपछि बोल्दै यो महत्वपूर्ण पुस्तक पढेर पाठकले लाभ लिनेमा आफु विश्वस्त भएको बताउनुभयाे । सोहि अवसरमा मन्त्री पाेख्रेलले योगमाया विश्व विद्यालयको पनि राष्ट्रियसभामा अन्तिम छलफल बाँकि रहेको अवगत् गराउनुभयाे ।
बिमोचनपछि पुस्तककी लेखिका डा. बार्बाराले योगमाया सम्बन्धी आफ्नो यो पुस्तक बिमोचनमा बिश्वभरिबाट थुप्रो नेपाली भर्चुअल भेला हुनुभएकोमा जन्मदिन दिवस मनाए जस्तै भएको बताउनुभयाे। योगमायाको कारणले आफू तथा नेपाली लेखिकाहरु पारिजात र निलम कार्की 'निहारिका' एकैठाउँ जोडिएकामा गर्व महसुस भएको उहाँको भनाई थियो। "आफू ग्रैर नेपाली लेखिकाले लेखेको पुस्तक बिमोचनमा यत्तिको जुन सम्मान दिनुभएको छ यो वास्तवमा नेपाली महिलाप्रति गरेको सम्मानको रुपमा मैले बुझेको छु",उहाँले भन्नुभयाे,"योगमायालाई नेपाली समाजमा चिनाउन र पुस्तक लेख्न सैयौँ नेपाली व्यक्तित्वले मलाई सहयोग गर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।"
८० बर्ष अघि योगमायाले आफूलाई जलसमाधीमा बिलिन गरेको भएपनि उहाँको बारेको अनुसन्धान नसकिएको बताउँदै लेखिका बार्बराले योगमायासँगै अब अर्की सामाजिक आन्दोलनकर्ता दुर्गादेवीको बारेमा खोजविन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयाे। दुर्गादेवी कार्की घिमिरे भोजपुरको फालिकोटमा जन्मिएकी र ४७ बर्ष अघि देहान्त भएकी सामाजिक आन्दोलनकर्ता रहेकी भन्दै नेपाली खासगरि युवा तथा महिला खोजकर्ताले उहाँको बारेमा खोजबिन गर्न अनुरोध गर्नुभयाे।
योगमायाको बारेमा बिद्यावारिधी गर्नुभएका लेखक डा. दिपेश न्यौपानेले लेखिका डा. बार्बरा नै योगमायाको बारेमा गहिरिएर खोज अनुसन्धान गरि उहाँलाई नेपाल र बिश्वमा चिनाउने पहिलो खोजकर्ता भएको बताउनुभयाे।
"योगमाया" उपन्यास लेखेर मदन पुरस्कार प्राप्त गर्नुभएकी लेखिका निलम कार्की 'निहारीका', बर्बरा निम्री अजिज सन् १९८० मा पहिलो पटक मनकामना पुग्दा त्यहाँ कुटीमा रहेका भक्तहरुबाट भजन सुने पछि योगमाया र दुर्गा देवीबारे अध्ययन अनुसन्धान सुरु गरि आज भन्दा ४० बर्ष अघि, अध्ययनको बाटो खोलेको चर्चा गर्दै, आफूले पनि उपन्यास लेख्ने क्रममा बेला बर्बराको भेला पारेको सामग्रीलाई पनि श्रोतको रुपमा प्रयोग गरेको बताउनुभयाे ।
पुस्तकको बारेमा समालोचना गर्दै समालोचक निनु चापागाईले पुस्तकमा नेपालमा राजनीतिक परिवर्तन भएपनि जातिय गतिशिलता नआएको, जातिय पहिचान तथा महिलाहरुको उत्थानमा सरकार र समाजले खासै काम गर्न नसकेको उल्लेख गरेको आफूले पाएको बताउनुभयाे।
बिमोचन कार्यक्रममा अधिकांश बक्ताहरुले योगमायाले जुन समतामूलक तथा रुढीबादमुक्त समाजको लागि बिद्रोह गरेकी थिइन । त्यो पट्टि अहिलेका योगमाया सम्बन्धी काम गर्ने प्रतिष्ठान, फाउण्डेसन तथा स्थानीय समुदायले अझै धेरै काम गर्नुपर्ने कुरामा जोड दिएका थिए।
बिमोचन कार्यक्रममा , महालक्ष्मी नगरपालिका धनकुटाका मेयर पर्शुराम नेपाल, षडानन्द नगरपालिका भोजपुरका मेयर वीरबल राई, खाँदबारी नगरपालिका संखुवा-सभाका मेयर मुरारी खतिवडा, जिल्ला समन्वय समिती संखुवा-सभाका प्रमुख सुमन शाक्य लगायतले मनतब्य राख्नुभएकाे थियाे ।
योगमाया अभियन्ता भविन्द्र अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने आयोजक संस्था योगमाया फाउण्डेसनका अध्यक्ष राम चन्द्र न्यौपानेले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

No comments:
Post a Comment