काठमाडौं, ३० मङ्सिर : आज बोलाइएको संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नजाने हुनुभएकाे छ । परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले एजेण्डाबारे कुनै जानकारी नगराएको रिक्त संवैधानिक निकायमा नियुक्त गर्नका लागि बनाइएको रोष्टर पनि उपलब्ध नगराएको भन्दै सभामुख सापकोटा बैठकमा नजाने हुनुभएकाे हाे ।
सभामुख सापकोटाले अध्यक्ष ओली, सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा तथा अन्य सदस्यहरुलाई पनि बैठकमा आफू अनुपस्थित हुनेबारे जानकारी गराइसक्नुभएकाे छ । कांग्रेस नेता रमेश लेखकले सापकोटा नजाने खबर देउवा निवास पुर्याएपछि के गर्ने भन्ने अन्यौलमा कांग्रेस रहेको छ ।
आइतबार बोलाइएको परिषद्को बैठक प्रमुख प्रतिपक्षी दलका नेता देउवा अनुपस्थित भएपछि अध्यक्ष ओलीले स्थगित गरेर आजका लागि बोलाउनुभएकाे थियाे । तर, आज सभामुख सापकोटा नजाने भएपछि बस्ने या नबस्ने टुंगो छैन ।
१३ महिनादेखि परिषद्को बैठक नबस्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा ४६ प्रमुख तथा सदस्यहरू नियुक्त हुन सकेका छैनन् । दलहरूबीच भागवण्डा नमिल्दा बैठक बस्न नसकेको हो । संवैधानिक अंगमा योग्य, क्षमताभन्दा पनि परिषद्का पदाधिकारीहरूको भागबन्डामा आधारित हुने गरेको छ ।
No comments:
Post a Comment