प्रतिनिधि सभा विघटनबारे सर्वाेच्चले न्यायकाे पक्षमा फैसला गर्नेमा ढुक्क हुन सकिँदैन : डा. भट्टराई - pharaksandesh.com

मुख्य समाचार


Sunday 27 December 2020

प्रतिनिधि सभा विघटनबारे सर्वाेच्चले न्यायकाे पक्षमा फैसला गर्नेमा ढुक्क हुन सकिँदैन : डा. भट्टराई


काठमाडाैँ, १२ पुस :
जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनको घटनामा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताउनुभएको छ । 

जसपाले आइतबार काठमाण्डौमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले सरकारको 'असंवैधानिक' कदमविरुद्ध सर्वोच्च अदालतको आदेश आउनेमा भर पर्न नहुने बताउनुभएको हो ।

अदालत सार तत्वमा नजाने टिप्पणी गर्दै डा. भट्टराईले अदालतको ढाँचा परम्परावादी र प्रक्रियामुखी भएकाले अदालतसँग झिनो आशा भए पनि न्यायको पक्षमा फैसला हुनेमा ढुक्क हुने अवस्था नरहेको बताउनुभएको हो । 

अध्यक्ष भट्टराईले 'असंवैधानिक' कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको समेत बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन चाहेको उल्लेख गर्दै उहाँले संसदमाथिको प्रहारमा मात्रै प्रधानमन्त्रीको कदम नरोकिने बताउनुभयो । डा. भट्टराईले देश अक्कडमा फसेको भन्दै सहज निकास गाह्रो भएको बताउनुभयो । उहाँले नागरिककाे निहित सार्वभौमसत्ता प्रयोग गरेर सभामुखले संसद् बोलाउनुपर्ने बताउनुभयो । 

यस्तै जसपा नेता राजेन्द्र महतोले सरकारले पटक–पटक प्रतिगमन गरेको टिप्पणी गर्नुभयो । अहिलेको प्रतिगमन केबल कुर्सीकाे लागि भएको उहाँको भनाइ छ । उहाँले प्रतिगमन नटिक्ने भन्दै नागरिककाे अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिनुभयो ।

विरोध सभामा सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराई, नेता राजेन्द्र महतो, अशोक राईलगायतको उपस्थिति रहेको थियो । जसपाले संसद् विघटनको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.