राजनीतिक सङ्कटबीच चिनियाँ टाेलीकाे नेपाल भ्रमणले के सङ्केत गर्छ? - pharaksandesh.com

मुख्य समाचार


Sunday 27 December 2020

राजनीतिक सङ्कटबीच चिनियाँ टाेलीकाे नेपाल भ्रमणले के सङ्केत गर्छ?


काठमाडाैँ, १२ पुस :
सङ्घीय संसद्को तल्लो सदन विघटन गरिएपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमका माझ एक चिनियाँ प्रतिनिधिमण्डल आज काठमाडाैँ उत्रिएको छ। चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो र महानिर्देशकसहितको प्रतिनिधिमण्डलले चारदिने भ्रमणमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्ने निश्चित भइसकेको छ।

नेकपाको प्रचण्ड-नेपाल समूहका रिजालले भन्नुभयाे: "यो भ्रमणको तय नेपालमा पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएपछि भएको हो।" 

चिनियाँ टोलीले प्रधानमन्त्री केपी ओलीसँग भेटघाट गर्ने वा नगर्ने अझै स्पष्ट भएको छैन। ओलीका प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आफूहरूलाई यसबारे कुनै जानकारी नभएको बताउनुभएकाे छ । 

चीनमा पार्टीले नै सरकार चलाउने भएकाले सीपीसीको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ।

नेपाली काङ्ग्रेसका नेता समेत रहनुभएका पूर्वराजदूत दीपकुमार उपाध्यायले 'नेपाल अदृश्य सङ्कटको बाटोमा गइसकेको' भन्दै त्यस्तो बेला विदेशी शक्तिहरूले आफ्नो स्वार्थ सुरक्षित गर्ने प्रयास गर्नुलाई अस्वाभाविक ठान्नुहुन्न।

"दक्षिणतर्फ खुला सीमा छ र उत्तरलाई तिब्बतको संवेदनशीलताको चिन्ता छ। त्यसमाथि बदलिएको विश्व परिदृश्यमा दुवैले आफ्नो सुरक्षा चासो त हेर्छन् नै," पूर्वराजदूत उपाध्यायले भन्नुभयाे, "समस्या हामीले निम्त्याएको हो। हामीले अनुमति दिएरै विदेशीहरू आउने हुन्। नेपाल आफैले आफ्नो गन्तव्य तय गर्ने विषयमा फेरि पनि चुक्दै छ।"

उपाध्यायले नेपालको पछिल्लो राजनीतिक विकासक्रममा अन्य मुलुकहरू जोडिनु भनेको देश असफल हुने बाटोमा जाने प्रारम्भिक सङ्केत रहेको बताउनुभयाे। उहाँले भन्नुभयाे, "नेपाल आफू कमजोर हुनु कुनै पनि छिमेकीलाई फाइदाको विषय होइन। र देशलाई कूटनीतिक स्वार्थको क्रिडास्थल बनाउँदा यसले द्वन्द्वहरू बढाउँछ।"

चीनले के चाहेको छ? 
चीनले नेपालमा आर्थिक रूपमा लगानी बढाउनका लागि केही वर्षयता राजनीतिक स्थिरतामा जोड दिँदै आएको उनीहरूका सार्वजनिक अभिव्यक्तिबाटै देखिन्थ्यो।

नेकपालाई एक बनाउन र त्यसलाई जोगाइराख्न बेइजिङले थुप्रै प्रयासहरू गरेको भन्ने समेत एक थरीको विश्लेषण पाइन्छ।

यसबीच नेकपामा सीपीसीले सैद्धान्तिक प्रशिक्षण समेत चलाएको थियो जसलाई नेपाली नेताहरूले 'अनुभव आदानप्रदान'को रूपमा अर्थ्याउने गरेका थिए। चीन अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराईले दुई ठूला कम्युनिस्ट मिलेर जाँदा हासिल गर्न सकिने उपलब्धिलाई पार्टी फुट हुँदाको अवस्थाले बिथोल्ने सोचेर चिनियाँहरू चिन्तित भएको बताउनुहुन्छ। "बिग्रिएको यस अवस्थालाई कतिसम्म जोगाउन सकिन्छ वा थप बिग्रन नदिन के गर्न सकिन्छ भन्ने बुझ्न सीपीसीको टोली आएको हुनसक्छ।", भट्टराई भन्नुहुन्छ,"कम्तीमा चुनाव नै हुने अवस्थामा पनि अझै मिलेर जाउन् भन्ने अन्तिम प्रयास चीनले गर्न सक्छ।"

भूराजनीतिक प्रतिस्पर्धा
संसद् विघटन भएपछि नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको एउटा समूहका अध्यक्षद्वय प्रचण्ड र नेपाललाई भेट्नुभएकाे थियाे । 

पार्टीमा सङ्कट देखा परेको यसअघिका अवस्थामा समेत राजदूतले प्रधानमन्त्री र अन्य नेताहरूसँग गर्ने भेटघाटलाई पार्टी एकतामा चीनको जोड रहेको रूपमा हेर्ने गरिन्थ्यो।

यो भ्रमणको समय र सन्दर्भलाई राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले नेपालको राजनीतिमा 'चिनियाँहरू प्रत्यक्ष रूपमा संलग्न रहेको' देखाउने बताउनुहुन्छ। "हिजो एउटा मात्र देशको हस्तक्षेप थियो भने आज दुई वटाकै भएको छ। चीन र भारत दुवैको नेपाली समाजमा गहिरो प्रभाव छ। त्यसमै देशहरू खेल्न थाले भने नेपाली समाज नै विभाजित हुने जोखिम छ," प्राध्यापक खनालले भन्नुभयाे,"अति संवेदनशील भूमानचित्रमा रहेको हामीमा दुइटा छिमेकीले प्रतिस्पर्धा गर्दा यहाँ धेरै कुरा विभाजित हुनसक्छ। त्यसले अफ्रिकी मुलुकहरूमा जस्तो द्वन्द्वको अवस्था सिर्जना नहोला भन्न सकिन्न।"

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.