निर्यातलाई अर्थतन्त्रको प्रमुख इन्जिन बनाउनुपर्छ : अध्यक्ष गोल्छा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

निर्यातलाई अर्थतन्त्रको प्रमुख इन्जिन बनाउनुपर्छ : अध्यक्ष गोल्छा


काठमाडौं, १६ मङ्सिर :
नेपाल उद्योग वाणिज्य महासंघले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी आफ्नो दृष्टिकोण तयार गर्ने भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्नेगरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्न लागेको बताउनु भएको हो ।

निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्न आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अवको १ सय दिन भित्रमा स्पष्ट दृष्टिकोणसहितको ‘भिजन पेपर’ ल्याउने प्रतिबद्दता व्यक्त गर्नु भयो ।

अहिले अर्थतन्त्रको इन्जिनको रुपमा रेमिट्यान्स मात्र रहेको र कुनैपनि बेला रेमिट्यान्समा कमी आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले अर्को इन्जिनको रुपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गरिने अध्यक्ष गोल्छाको भनाइ थियो । त्यसका लागि निर्यातजन्य उद्योग व्यवसायको लागत घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यातलाई प्रवर्दन गर्न नसक्नुको कारण नीतिगत व्यवस्थामा भएको कमजोरी नै रहेको बताउनुभयो ।

अहिलेभन्दा ३० वर्ष पहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमश: घट्दै जानुका पछाडि नीतिगत अन्यौल प्रमुख समस्याका रुपमा देखिएको उहाँको भनाइ थियो। त्यसैले महासंघले निर्यात प्रवर्दनका लागि नीतिगत सुधार गर्न सरकार समक्ष सक्रिय रुपमा माग राख्ने उपाध्यक्ष ढकालको प्रतिवद्दता थियो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले महासंघको गरिमालाई तलमाथि गरेर उदाउँदो निजी क्षेत्रको शिर झुकाउने काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन अगाडि भएका प्यानल निर्वाचनको नतिजासँगै समाप्त भएकाले पनि अब एक भएर समग्र निजी क्षेत्रको हितमा काम गर्ने व्यवसायीहरुको प्रतिवद्दता थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.